News

Apr 29, 2009

ससुरासँगको यौनसम्बन्ध लुकाउन छोरीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ससुरासँगको यौनसम्बन्ध लुकाउन सुनसरीकी एक महिलाले आफ्नै पाँच वर्षीया छोरीको निर्ममतापूर्वक हत्या गरेकी छिन् । बुबा विदेशमा रहेका वेला आमा र हजुरबुबाबीच हुने यौनसम्बन्धबारे अन्जानमै छिमेकीलाई बताएकै कारण नाबालिकाले आफ्नै आमाबाट ज्यान गुमाउनुपरेको हो । सुनसरी भोक्राहा-७ की २४ वर्षीया फुलोदेवी खत्वेले पाँच वर्षीया छोरी सोसिलादेवीलाई ससुरा वसन्तको सहयोगमा घाँटी बटारेर हत्या गरेकी हुन् । छोरीले आफू र ससुरा एउटै ओछ्यानमा सुतेको कुरा गाँउभरि भनेकाले इज्जत जाने डरले ससुराको सल्लाहअनुसार छोरीको हत्या गरेको फुलोदेवीले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसन्धान अधिकृत रेवत अधिकारीले बताए । अधिकारीका अनुसार आमा फुलोदेवीले सोमबार राति ससुराको सहयोगमा निदाएकी छोरीलाई ओछ्यानमै घाँटी बटारेर हत्या गरेकी थिइन् । 'ससुराले निदाएकी छोरीको मुख थुन्नुभयो । छोरी हातखुट्टा फ्याँक्दै थिई, मैले घाँटी बटारेँ,' आमा फुलोदेवीले प्रहरीसँगको बयानमा भनिन् । छोरीको हत्यापछि आफूलाई निकै डर लागेको तर ससुराले 'नडराऊ हामी दुवै राति नै भारततिर भाग्नुपर्छ' भनेपछि केही डर हटेको उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ । हत्या गरिएकी छोरीलाई ससुराले सिमेन्टको बोरामा हालेर छिमेकी तथा आफन्त सहदेवको सहयोगमा घरबाट केही परको खेतमा रहेको सनपाट कुहाउने खाल्डोमा पुरेर आएको उनले बताइन् । छोरीलाई हत्या गरेको रात ससुरा र आफू एउटै खाटमा बिताएको उनले बताएकी छिन् । सोमबार राति हत्या गरेपछि सधैं गाउँले तथा छिमेकीका छोराछोरीसँग खेल्न आउने सोसिला नआएपछि शंका लागेर छिमेकीले खोजी गरेका थिए । खोजी गर्दै जाँदा खेतबारीमा नयाँ माटो खनेको पाएपछि खोसे्रर हेर्दा शव फेला पारी छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बुधबार बिहान १० बजे स्थानीय बासिन्दाले खाल्डोमा शव गाडिएको खबर गरे । त्यसपछि जिल्लाबाट गएको प्रहरी टोलीले बालिकाको शव निकालेको अनुसन्धान अधिकृत रेवत अधिकारीले बताए । छिमेकीको सूचनाका आधारमा प्रहरीले आमा र गाड्न सहयोग गर्ने सहदेवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए । ती बालिकाको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ । प्रहरीका अनुसार ती बालिकाको बुबा र काका वैदेशिक रोजगारका लागि मलेसिया गएका छन् । श्रीमान् मलेसिया गएपछि फुलोदेवीले ससुरासँग यौनसम्बन्ध बढाएकी थिइन् । पक्राउ परेकामाथि ज्यान मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

No comments: