News

Apr 20, 2009

३० मेगावाट भारतीय विजुली आयात गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्युत् प्राधिकरणले लोडसेडिङ कम गर्न मंगलबारदेखि नवलपरासी क्षेत्रबाट ३० मेगावाट भारतीय विजुली आयात गर्ने भएको छ । बाल्मीकिनगर रामनगर क्षेत्रबाट आयात हुने विजुली प्राधिकरणले महँगो दरमा किन्न लागेको हो । पछिल्लोपटक भारतसँग तय भएको दरले प्राधिकरणलाई प्रतियुनिट कम्तीमा डेढ रुपैयाँ घाटा पर्नेछ । यो रकम चुहावटबाहेकको हो ।प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठका अनुसार भारतीय बिजुली फ्युल सरचार्जबाहेक प्रतियुनिट भारु ४ रुपैयाँ ७९ पैसा (नेपाली ७ रुपैयाँ ६० पैसा) हुनेछ । फ्युल सरचार्ज भने प्रतियुनिट १० देखि ७० भारतीय पैसासम्म हुन सक्छ । सरचार्ज तय भई नसकेको श्रेष्ठले बताए ।भारतको सरकारी ऊर्जा दलाल कम्पनी पावर ट्रेडिङ कर्पारेसन (पीटीसी) बाट प्राप्त हुने यो बिजुली बढीमा दुई महिनाका लागिमात्र हो । अल्पकालका लागि भएकाले भारतीय बिजुली महँगो भएको श्रेष्ठले बताए । प्राधिकरणको औसत बिक्रीदर प्रतियुनिट ६ रुपैयाँ ५० पैसा छ ।पीटीसीसँग पुनः वार्ता गरेर दोस्रो पटक दर निर्धारण गरिएको श्रेष्ठले बताए । पीटीसीले यसअघि स्टेट इलेक्टि्रसीटी, बिहारबाट प्रतियुनिट भारु ४ रुपैयाँ ८६ पैसा, त्यसपछि चार पैसा दलाली खर्चलगायत शुल्क जोडेर भारु ५ रुपैयाँ ५६ पैसा (नेपाली ८ रुपैयाँ ९० पैसा) तय गरेको थियो । त्यसबाहेक कोइलाको भाउ बढ्दा त्यसअनुसार नेपालले लिने बिजुलीमा समायोजन गरिने भारतीय प्रस्ताव थियो ।'पीटीसीसँग पुनः वार्ता गरेपछि बिहारको दरमा ४ रुपैयाँ ८६ बाट ११ पैसा झारेको हो,' श्रेष्ठले भने, 'फ्युल सरचार्ज कति हुन्छ भन्ने थाहा नभएकाले वास्तविक दर अझै थाहा छैन ।'प्राधिकरणले यसअघिको सम्झौताअनुसार प्रतियुनिट भारु ४ रुपैयाँ ५४ पैसामा टनकपुर, कोसीबाट आयात गरिरहेको छ । दुई देशबीच सम्पन्न विद्युत् आदान-प्रदान सम्झौताअनुसार बिजुली लिने हो भने सस्तो पर्छ । १ सय ५० मेगावाटसम्म आदान-प्रदान गर्न सकिने सम्झौता भए पनि भारतले त्यसलाई मानेको छैन ।जलस्रोत मन्त्रालयले ऊर्जा संकट कम गर्न जारी गरेको ३५ बुँदे कार्यक्रममा भारतबाट बिजुली आयात गरिँदा प्राधिकरणलाई प्रतियुनिट ७० पैसा अनुदान दिने उल्लेख छ । श्रेष्ठका अनुसार सरकारसँग प्राधिकरणले अनुदान माग्नका लागि मन्त्रालयमा पत्राचार गरिसकेको छ । 'हामीले यति पर्ने भयो भनेर मन्त्रालयलाई जानकारी गराइसकेका छौं,' उनले भने । भारतीय बिजुली आयातका लागि प्राधिकरणले सोमबार एलसी खोल्ने भएको छ । भारतीय बिजुलीले पश्चिमाञ्चलका बुटवल, भैरहवा, पाल्पा, कृष्णनगरलगायतका स्थानलाई ठूलो राहत दिनेछ । कम भोल्टेजका कारण यसको असर काठमाडौंमा भने पर्दैन ।औद्योगिक क्षेत्र लोडसेडिङमुक्त प्राधिकरणले सरकारको व्यवस्थापनमा सञ्चालित औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त पारेको छ । सोमबारदेखि चौबीसै घन्टा बिजुली आपूर्ति भइरहने औद्योगिक क्षेत्रमा बालाजु, पाटन, भक्तपुर, हेटौंडा, पोखरा र बुटवल छन् । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आपना डेडिकेटड फिडर भएका र दुईवटाभन्दा कम खपत गर्ने उद्योगको पनि लोडसेडिङ हटाइएको छ ।

No comments: