News

Apr 28, 2009

नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानसेनापति हटाउने अडानमा रहेको माओवादीलाई दबाब दिन सडक आन्दोलन गर्ने निर्णय गरेको छ । राजनीतिक सहमतिविना नै प्रधानसेनापतिमाथि सरकारले कारबाही गरे अन्य १६ दललाई समेत साथमा लिएर सडक आन्दोलन गर्ने कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले बुधबारदेखि नै आफू मातहतका सबै निकायसँग छलफल गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने निणय गरेको छ । कांग्रेस प्रवक्ता अजुननरसिंह केसीले माओवादीले सत्ताकब्जा गर्ने नियतले सुरु गरेको सेनापति प्रकरणलाई रोक्न सडक आन्दोलन गर्न लागेको जानकारी दिए । पार्टी सेनापति स्पष्टीकरणको विषयमा लिएको अडानमा दृढ रहेको उल्लेख गर्दै प्रवक्ता केसीले अन्य दलसँगको छलफललाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए । माओवादीका केही नेताले कांग्रेस सरकारमा सहभागी हुँदै छ भनेर हल्ला गर्दै हिँडेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाउंँदै सो भ्रम मात्र भएको कांग्रेसले बताएको छ । उसले माओवादीको नेतृत्वमा सरकार माओवादी सैन्यवादी सोचका साथ काम गरेकाले यस्तो सरकारमा कांग्रेस सहभागी नहुने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा भएको बैठकमा सभापति गिरिजाप्रसाद कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरू उपस्थित थिएनन् । बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला मानबहादुर विक, आमोदप्रसाद उपाध्याय, खुमबहादुर खड्का, दीपकुमार उपाध्याय, मनमोहन भट्टराईलगायतका नेताले माओवादीले मुलुकमा सर्वसत्तावाद लाद्न लागेको आरोप लगाउँदै पार्टीले सशक्त आन्दोल गर्नुपर्ने अडान राखेका थिए । पार्टी कार्यालय पुगेकी केन्द्रीय सदस्य सुजाता कोइराला बैठक सुरु भएलगतै बाहिरिएकी थिइन् । केन्द्रीय सदस्य सुजाता कोइरालाले राख्दै आएको फरक मतको समेत बैठकमा सदस्यले आलोचना गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री-कोइराला भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच मंगलबार बिहान कोइरालानिवास महाराजगन्जमा भेटवार्ता भएको छ । प्रधानसेनापति स्पष्टीकरण विवादलाई लिएर भएको भेटमा पनि दुई नेता कुनै निष्कर्षमा पुग्न सकेनन् । कांग्रेस सभापति कोइराला भेट्न प्रधानमन्त्रीसहित अर्थमन्त्री डा. बाबुराम भट्टराई, रक्षामन्त्री रामबहादुर थापा र नेता नारायणकाजी श्रेष्ठ कोइरालानिवास पुगेका थिए । प्रधानमन्त्रीले प्रधानसेनापतिमाथि कारबाहीका लागि सहयोग गर्न आग्रह गरेको बुझिएको छ । प्रत्युत्तरमा कोइरालाले सेनाको चेन अफ कमान्डलाई नबिगार्न आग्रह गरेको कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले जानकारी दिए । प्रधानमन्त्रीसहितका नेताले प्रमुख दलहरूबीच छलफल गर्न प्रस्ताव गरेको सहभागी एक नेताले बताए । त्यसअघि प्रधानमन्त्रीसँग एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल र नेता सुरेन्द्र पाण्डेसहितको टोलीले भेटेको थियो ।

No comments: