News

Apr 18, 2009

विश्वव्यापी मन्दी भएपनि दाताहरुले सहयोग बढाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वभर फैलिएको आर्थिक संकटका बावजुद नेपालका प्रमुख दाताहरुले उनीहरुले नेपाललाई दिने सहयोग राशी बढाउने जनाएका छन्।नेपालको सबैभन्दा ठूलो बहुपक्षीय दाता विश्व बैंक तथा सबैभन्दा ठूलो द्विपक्षीय दाता बेलायती नियोग डिएफआइडिका अधिकारीहरुका अनुसार नेपालको निम्ति उनीहरुले दिइरहेको सहयोगको राशी कटौती गरिने छैन।संसारका ठूल्ठूला धनी देशहरु संकटका कारण आफ्नै उद्योगधन्दा जोगाउन खर्बौं रुपियाँ खन्याउन वाध्य भइरहेको बेला उनीहरुले नेपालजस्ता गरीब देशहरुलाई दिने गरेको सहयोगमा ग्रहण लाग्न सक्ने आशंका धेरैको थियो।यसै महिनाको अन्तमा हुन लागेको नेपाल विकास मञ्चको बैठकमा मनग्गे वैदेशिक सहयोग माग्ने तयारीमा रहेको सरकारलाई यो विषयले निकै चिन्तित पनि बनाएको थियो।तर त्यस्तो आशंका मेटाउँदै विश्व बैंककी नेपाल निर्देशक सुजन गोल्डमार्कले भनिन्, “म के भन्न सक्छु भने विश्व बैंकले नेपाललाई दिइरहेको सहयोग बढाउनेछ। हामी अन्तर्राष्ट्रिय विकास सहयोगको अंश बढाउँदैछौं।उनले त्यसको रकम भने नेपाल विकास मञ्चको बैठकमा खुलाउने बताइन्।विश्व बैंकले आफूले बढाउने सहयोगको राशी सार्वजनिक गरिसकेको छैन, तर नेपालको अर्को महत्वपूर्ण दाता डिएफआइडिले भने आउने तीन वर्षमा, गएको तीन वर्षमा भन्दा झण्डै ५० प्रतिशत बढी रकम दिने कुरा सार्वजनिक गरिसकेको छ।डिएफआइडिका नेपाल उपप्रमुख टोनी बर्डनले भने, “हामीले आउँदो तीन वर्षको लागि बीस अर्ब रुपियाँ दिने कुरा बताइसकेका छौं।“विश्वव्यापी अर्थतन्त्रमा जेजस्तो गडबडी भइरहेको भएतापनि बेलायती सरकार सहयोग लक्ष्य पुरा गर्न प्रतिबद्ध छ।”यी दुई प्रमुख दाताबाहेक अन्य दाताहरुपनि नेपाललाई सहयोग घटाइहाल्ने मनस्थितिमा नरहेको दातृ प्रतिनिधिहरुको भनाइ छ। “अहिले जे जति सहयोग दिइराखिएको छ त्यसलाई घटाउने मनसाय उनीहरुको नरहेकोमा म विश्वस्त छु। तर सहयोग राशी अहिलेको भन्दा बढाउन भने उनीहरुलाई निकै गाह्रो हुनसक्छ,” विश्व बैंककी नेपाल निर्देशक गोल्डमार्कले भनिन्। शान्ति प्रक्रियाको चरणमा रहेको नेपाललाई पुनर्निर्माणमा यथेष्ट वैदेशिक सहयोग चाहिने सरकारले बताइरहेको छ।

No comments: