News

Apr 27, 2009

नेपाल-भारतका केही सीमास्तम्भ हराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारतका केही सीमास्तम्भ हराएका छन् । स्थानीय प्रशासनले भने ६ महिनायता सीमास्तम्भको अनुगमनसमेत गरेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्रीले सीमास्तम्भको निरीक्षण नगरिएको स्विकारेका छन् । भन्छन्, 'म बाँके प्रशासनमा आएको ६ महिना बितिसक्यो । एकपटक पनि निरीक्षण गर्न सकेका छैनौँ ।' दुई देशका अधिकारीबीच छिट्टै छलफल गरी सर्भे टोलीसहित निरीक्षणमा जाने उनले बताए । बाँकेमा मुख्य ३३ र दुई सय ७४ वटा सहायक पिलर गरी तीन सय सातवटा सीमास्तम्भ रहेको प्रशासनले जनाएको छ । त्यसमध्ये ६३८ नम्बरको एउटा सीमास्तम्भ हराएको छ । राप्ती नदीको बाढीले ६४४ र ६४५ नम्बरको मुख्य र पाँचवटा सहायक सीमास्तम्भ बगाएको छ । ६४३ को १ र २, ६४४ को १ र २ र ६४५ को १ नम्बर सहायक सीमास्तम्भ राप्तीले बगाएको हो । हराएका क्षेत्रमा नेपाली भूमि मिचिएको छ वा छैन भन्नेबारे पनि प्रशासनलाई जानकारी छैन । भारतीय सीमा सुरक्षाबलले सीमाक्षेत्रमा कच्ची बाटो निर्माण गरेर नियमित अनुगमन गरे पनि नेपाली पक्षबाट त्यसो हुन सकेको छैन । बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरीबलका तीनवटा बेसक्याम्प राखिएका छन् । बलले पनि सबै ठाउँको सीमास्तम्भको निरीक्षण गर्न सकेको छैन । सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक दिलीप शर्माका अनुसार कटकुइया सशस्त्र प्रहरी बेस क्याम्पले पूर्वमा दाङ र नारायणपुरसम्म, कालाबन्जर सशस्त्र प्रहरी बेस क्याम्पले, पश्चिम जमुनाहासम्म र जमुनाहा बेस क्याम्पले बर्दियासम्मको सीमा निरीक्षण गर्नुपर्ने बाध्यता छ । तर, राप्तीपारिका विकट ठाउँका सीमास्तम्भको भने सशस्त्र बलले निरीक्षण गर्न सकेको छैन । 'सातामा दुईपटक सीमास्तम्भको निरीक्षण गर्नुपर्ने हो । राप्तीवारि निरीक्षण गर्न भ्याएका छौँ । तर, राप्तीपारि विकट स्थानमा रहेका सीमास्तम्भको निरीक्षण गर्न गाह्रो छ,' प्रहरी उपरीक्षक शर्माले बताए । सीमास्तम्भसम्म पुग्ने बाटो नभएकाले निरीक्षण गर्न कठिन भएको उनको भनाइ छ । हराएका पिलरका बारेमा भने सम्बन्धित मन्त्रालयमा जानकारी गराइएको उनले बताए ।

No comments: