News

Apr 22, 2009

सरकारले प्रधानसेनापति कटवाललाई बिदा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई बिदा गर्ने भएको छ । कटवालले स्पष्टीकरणका नाममा सरकारलाई उल्टै चुनौती दिन खोजेको भन्दै सरकारले उनलाई अवकाश दिने तयारी गरेको हो । जननिर्वाचित सरकारको निर्देशनलाई पटक-पटक अवज्ञा गरेर नागरिक सर्वोच्चतालाई चुनौती दिएको भन्दै सरकारले सोमबार बिहान उनीसँग स्पष्टीकरण मागेको थियो । २४ घन्टे म्यादभित्रै मंगलबार बिहान ९:४५ मा कटवालका तर्फबाट सहायक रथी राजेन्द्र क्षेत्रीले मन्त्रिपरिषद् कार्यालयमा स्पष्टीकरण दर्ता गराएका थिए । सरकारले सैनिक भर्ना, आठ जर्नेलको पुनर्बहाली र राष्ट्रिय खेलकुद बहिष्कारका विषयमा कटवालको भूमिका आपत्तिजनक भएको भन्दै स्पष्ट पार्न भनेको थियो । स्रोतका अनुसार कटवालले सबै विषयको उत्तर पनि दिएका छन्, तर उत्तरबाट सरकार झन् असन्तुष्ट भएको छ । 'सैन्य भर्ना-प्रक्रिया पहिलेकै सरकारले सुरु गरेको हो, मैले त त्यसलाई निरन्तरता मात्र दिएको हुँ,' स्रोतका अनुसार कटवालले भनेका छन्, 'अदालतले अब रोक भन्दा प्रक्रिया पनि सकिइसकेको थियो ।''आठ जर्नेललाई अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अदालतले रक्षा मन्त्रालयलाई दिएको आदेशको बोधार्थ सैनिक मुख्यालयलाई पठाएको थियो । त्यही आधारमा उनीहरू (जर्नेलहरू) लाई पुनर्बहाली गरिएको हो,' उनले स्पष्टीकरण दिएका छन् । त्यस्तै राष्ट्रिय खेलकुद बहिष्कार गरेको विषयबाट भने उनले आफूलाई अछुतो राख्न खोजेका छन् । 'खेल बहिष्कार गर्ने निर्णय खेलाडी आफैंले गरेका हुन्, मैले कुनै आदेश दिएको छैन,' उनको स्पष्टोक्ति छ । स्रोतका अनुसार प्रधानसेनापतिले सरकारले सोधेका प्र्रश्नको जवाफ मात्र दिएका छैनन्, आफूलाई कारबाही गर्ने सरकारको अधिकारमाथि पनि प्रश्न उठाएका छन् । 'प्रधानसेनापति राष्ट्रपतिले नियुक्त गर्ने हो, कारबाही गर्ने अधिकार पनि उनैसँग मात्र छ,' स्रोतका अनुसार कटवालले जवाफी पत्रमा लेखेका छन् । कटवालको जवाफी शैलीबाट सरकार झन् असन्तुष्ट भएको स्रोतले जनाएको छ । 'कटवालले सेनालाई सरकारको मातहतमा होइन, समानान्तर शक्ति केन्द्रका रूपमा प्रस्तुत गर्न खोजेका छन् भन्ने आशंका थियो, उनकै पत्रले पुष्टि गर्‍यो,' सरकारी स्रोतले भन्यो । 'आत्मालोचना गर्नुको सट्टा सरकारलाई उल्टै चुनौती दिने प्रधानसेनापतिलाई बर्खास्त गर्नुको विकल्प छैन,' सरकारी स्रोतले भन्यो । सो स्रोतका अनुसार बुधबार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्नेछ । उता कटवालले भने सैनिक संगठनलाई आफ्ना पक्षमा अडिग रहन निर्देशित गरेका छन् । उनले पृतनापतिहरूलाई फोन गरेर 'एलर्ट' रहन आदेश दिएका छन् । 'राष्ट्रपति मेरा पक्षमा छन्, मलाई तपाईंहरूको सहयोग चाहिन्छ,' सैनिक स्रोतले कटवाललाई उद्धृत गर्दै बतायो । उनले बिदामा बसेका अधिकारीहरूलाई पनि तुरुन्तै र्फकन निर्देशन दिएका छन् । शान्ति-सम्झौताविपरीत सेनामा भर्ना खोलेको र बन्द गर्ने सरकारी निर्देशन अवज्ञा गरेर कटवालले अक्षम्य त्रुटि गरेको सरकारी निष्कर्ष छ । त्यस्तै अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अदालतले निर्देशन दिनासाथ रक्षासँग समन्वय नै नगरी आठ जर्नेललाई आफैं पुनर्बहाल गरेर कटवालले सरकार र कानुनको अवहेलना गरेको सरकारी अभियोग छ । त्यस्तै 'जननिर्वाचित प्रधानमन्त्री संरक्षक रहेको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेल बहिष्कार गर्न लगाएर सरकारलाई चुनौती दिन खोजेको' आरोप पनि उनीमाथि लगाइएको छ ।

No comments: