News

Apr 16, 2009

मन्त्रीसहित ३७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाएनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शिक्षामन्त्री रेणुकुमारी यादवसहित संविधानसभाका ३७ उम्मेदवारले एक वर्ष बितिसक्दा पनि चुनाव खर्चको विवरण पेस गरेका छैनन् । सप्तरी-४ बाट मधेसी जनअधिकार फोरमका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएर मन्त्री बनेकी यादवसहित ३७ उम्मेदवारले चुनाव खर्च विवरण पेस नगरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले बताएको छ ।चुनावको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउनुपर्ने प्रावधान छ । उम्मेदवारलाई खर्च-विवरण उपलब्ध गराउन पटक-पटक पत्राचार गर्दा पनि अटेर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी विनितकुमार झाले बताएका छन् । स्पष्टीकरण लिएपछि चारजनाले भने विवरण बुझाएको उनले जानकारी दिए । निर्वाचन कार्यालयले स्पष्टीकरण मागेपछि सप्तरी-३ का कांग्रेस उम्मेदवार रामकुमार चौधरी, कांग्रेसकै क्षेत्र नम्बर ५ का उम्मेदवार मुक्तिनाथ चौधरी, क्षेत्र नम्बर ६ का माओवादी उम्मेदवार सुकदेव साह र क्षेत्र नम्बर ४ का सद्भावना पार्टीका उम्मेदवार सत्यनाराण यादवले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । खर्च विवरण नबुझाउने धेरैजसो स्वतन्त्र र साना दलका उम्मेदवार छन् । निर्वाचन कार्यालयका अनुसार खर्च-विवरण नबुझाउने स्वतन्त्र उम्मेदवारमा कुदरत अली, श्यामनारायण मण्डल, गंगाराम यादव, हिम्मत सिंह, शिवनारायण यादव, योगानारायण देव, पवनकुमार यादव, मनोज राम, चन्द्र राम, तारिणीप्रसाद ठाकुर, मो हबिबुला मियाँ छन् ।यस्तै कांग्रेसका श्रवनकुमार विष्ट र दिनेश यादव तथा राप्रपाका भुपेन्द्रप्रसाद थारू, गोविन्द सिंह र अलोधनी देवीले पनि चुनाव खर्च विवरण पेस गरेका छैनन् । सद्भावना आनन्दीदेवीका सुरेशकुमार सिंह, नेकपा एकीकृतका सुवी यादव, दलित जनजाति पार्टीका नन्दकिशोर पासवान, चुरेभावरका दिनेशकुमार पोखरेल, जनमोर्चा नेपालका दिलीपकुमार चौधरी, नेकपा संयुक्त माक्र्सवादीका कालीकान्त चौधरी, राष्ट्रिय जनता पार्टीका विश्वनाथप्रसाद गुप्ता, राष्ट्रिय जनता दल पार्टीका देवनारायण मुखिया र तपेश्वर मुखिया, सशक्त नेपालकी ईश्वरवती राम र शान्ति राम, राप्रपा नेपालका श्रीराम शर्मा र नेपाल जनता दलका बालकुमार सदाले खर्च-विवरण बुझाएका छैनन् ।निर्वाचन कार्यालयले उम्मेदवारलाई खर्च विवरण पेस गर्न हुलाकमार्फत उनीहरूको स्थायी ठेगनामा पत्र पठाए पनि सम्बन्धित व्यक्ति फेला नपरेकाले ६ जना उम्मेदवारको पत्र फिर्ता आएको छ । राष्ट्रिय जनता पार्टीका बलराम चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रवणकुमार चौधरी, स्वतन्त्रका कपलेश्वर मण्डल, सद्भावना आनन्दीदेवीका विकास तिवा, राष्ट्रिय जनता दल पार्टीका जयप्रकाश मरवैता यादव र तमलोपका ललन थारूको पत्र फिर्ता आएको निर्वाचन कार्यालयले जनाएको छ ।

No comments: