News

Apr 20, 2009

ओबामाको क्युबा नीति फरक हुने प्रक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोबागो/ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो मुलुक क्युबासँगको सम्बन्धलाई परिवर्तन गर्ने प्रक्रियामा रहेको बताएका छन् । क्यारेबियन मुलुक टि्रनिडाड एन्ड टोबागोको राजधानीमा अमेरिकी मुलुकहरूको शिखर सम्मेलन भइरहेकै समयमा दक्षिण अमेरिकी नेताहरूसँगको भेटघाटका वेला ओबामाले संवाददातालाई सो कुरा बताएका हुन् । 'उहाँले त्यस मुलुकसँग हाम्रो सम्बन्धको प्रकृतिमा परिवर्तन ल्याउने बाटामा छौँ भन्नुभएको हो । यस्तो परिवर्तन रातारात सम्भव हुँदैन भनेर पनि उहाँले बताउनुभएको हो,' एक वरिष्ठ अमेरिकी अधिकारीले भनेका छन् । उनका अनुसार ओबामाको यस अभिव्यक्तिलाई बैठकमा भाग लिइरहेका दक्षिण अमेरिकी नेताले सामान्यतया प्रशंसा गरेको र अमेरिकाले क्युबामाथि लगाइरहेको व्यापार प्रतिबन्ध हटाउन अघि बढ्न आग्रहसमेत गरेका छन् । ओबामाले अमेरिकाको उद्देश्य नै 'प्रजातान्त्रिक क्युबा' देख्ने रहेको र कतिपय मामलामा क्युबासँग छलफल गर्न बाँकी नै रहेको बताएको जानकारी दिँदै ती अमेरिकी अधिकारीले ओबामाले अमेरिका र क्युबाबीच मध्यस्थता गर्न कुनै तेस्रो देशलाई संलग्न गराउने योजना भने नबनाएको बताए । शिखर सम्मेलनको कार्यसूचीमा क्युबा मामलालाई नराखिएको भए पनि अन्य ३३ क्षेत्रीय नेताले पहिलोपल्ट ल्याटिन अमेरिकाको भ्रमणमा जान लागेका बाराक ओबामामाथि क्युबासँगको सम्बन्ध सुधार गर्न दबाब बढाइरहेका छन् ।

No comments: