News

Apr 22, 2009

प्रधानसेनापतिसँग स्पष्टीकरणको विरोधमा १७ दल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापति रुक्मांगत कटवालसँग स्पष्टीकरण लिने निर्णय फिर्ता गर्न सत्तारुढ एमालेसहितका १७ दलले सरकारसित माग गरेका छन् । निर्णय फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन् । कांग्रेसको आह्वानमा बिपी स्मृति भवन सानेपामा मंगलबार बसेको १७ दलको सर्वदलीय बैठकले सरकारले आफ्नो कदम नसच्याएसम्म संसद्को बैठक सुचारु हुन नदिने निर्णयसमेत गरेको छ । कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाको संयोजकत्वमा बसेको बैठकले सरकारले राजनीतिक अभिष्ट पूरा गर्न नेपाली सेनाको तेजोवध गर्ने खोजेको निष्कर्ष निकालेको छ । बैठकमा सत्तारुढ एमालेसमेत सहभागी थियो ।आगामी दिनमा सरकारको यस्तो कदमलाई रोक्न एक कार्यदल बनाउने निर्णय बैठकले गरेको छ । सर्वदलीय बैठकको निर्णयअनुसार १७ वटै राजनीतिक दलका नेताहरूले मंगलबार दिउँसो राष्ट्रपति डा. रामवरण यादवलाई शीतलनिवासमा भेटेका छन् । दलका नेताहरूले सेनाको परमाधिपति र संविधानको संरक्षकको हैसियतले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको बुझिएको छ । सरकारको पछिल्लो कदमप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको सहभागी एक नेताले जानकारी दिए ।

No comments: