News

Apr 26, 2009

सहमतिका आधारमा काम गर्न प्रमलाई सल्लाह राष्ट्रपतिको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १३ गते । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा आइतबार छलफल भएको छ । राष्ट्रपति भवन, शीतल निवासमा भएको छलफलमा सरकारले प्रधानसेनापतिलाई सोधेको स्पष्टीकरणलगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार दाहालका अनुसार छलफलमा राष्ट्रपति यादवले अन्तरिम संविधानको मर्मलाई ध्यानमा राखी काम गर्न आग्रह गर्नुभएको थियो । जे कार्य गर्दा पनि राजनीतिक सहमतिका आधारमा गर्न सल्लाह दिँदै राष्ट्रपति यादवले मुलुकलाई राजनीतिक नेतृत्व दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको भएकाले सबैलाई समेटेर लैजान विशेष आग्रह गर्नुभयो । संविधान, कानुन तथा बृहत् शान्ति सम्झौतालाई बिर्संदा मुलुकमा राजनीतिक अप्ठ्यारा आउनेतर्फ सचेत गराउँदै डा. यादवले सहमति जुटाउन र संविधान, कानुनको पालनामा जोड दिनुभएको थियो । प्रधानसेनापतिलाई सोधिएको स्पष्टीकरणका विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकोमा राष्ट्रपतिले प्रसन्नता व्यक्त गर्नुभएको थियो । यस्ता प्रयास गर्दै जाँदा सबैलाई एकै ठाउँमा ल्याउन सकिने विश्वास डा. यादवले व्यक्त गर्नुभयो । दाहालका अनुसार प्रधानमन्त्री दाहालले पनि छलफल, सहमतिबाटै निकास खोज्ने विश्वास दिलाउनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार छलफलमा प्रधानसेनापतिमाथिको कारबाहीलाई दलहरूसितको छलफल बढाएर छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिइएको थियो । प्रधानमन्त्री दाहालले स्थगित भएको आˆनो चीन भ्रमणका बारेमा पनि राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

No comments: