News

Apr 27, 2009

सेनापतिसंगै रक्षामन्त्रीको राजीनामा गर्न लगाउने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति हटाउने आफ्नो योजनाको विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग पहिलो पटक वार्ता गरेका छन्।
सेनापति हटाउने र बचाउने विवादले निम्त्याएको राजनीतिक तनाव सुल्झाउन नयाँ विकल्पहरुबारे छलफल शुरु भएपछि विपरित अडानमा रहेका उनीहरुबीचको भेटलाई महत्वका साथ हेरिएको छ।
नयाँ विकल्पमा सेनापति रुक्मांगद कटवालसंगै दोश्रो स्थानमा रहेका रथी (लेफ्टीनेन्ट जनरल) कूलबहादुर खड्का र रक्षामन्त्री रामबहादुर थापा (बादल) लाई राजीनामा गर्न लगाउने प्रस्ताव छ। एमालेका सचिव युवराज ज्ञवालीले स्थायी कमिटीको आईतबारको सहमति अनुसार, अध्यक्ष झलनाथ खनालले सोमबार एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग छुट्टा छुट्टै भेटी नयाँ प्रस्तावबारे छलफल गरेको बताए।त्यसपछि प्रचण्ड-कोइराला भेटमा भएको कुराकानीको विवरण खुलाइएको छैन। तर उक्त भेटमा सहभागी नभएका कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले भने, “परम्परा भत्काएर दलको सहमतिको आधारमा राष्ट्रिय सुरक्षा अंग - सेनाको नेतृत्व छान्ने विकल्प हामीलाई स्वीकार्य हुँदैन। त्यसले राजनीतिकरण गर्छ।”सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि प्रस्ताव मान्य नहुने बताए।उनले भने, “रक्षामन्त्री हटाउने विकल्प कुनै हालतमा स्वीकार्य हुँदैन। सेनापति कसलाई बनाउने भन्ने निर्णय सरकारले गर्ने हो। तर पनि स्वाभाविक रुपमा त्यहाँको क्रम अनुसार सरकारले निर्णय गर्दै जाला।”नयाँ विकल्पमा प्रधानसेनापतिको प्रस्तावमा तेश्रो स्थानका रथी छत्रमान गुरुङ कटवालले नियमित प्रकृया अनुसार अवकाश पाएमा स्वत: प्रधानसेनापति हुनेछन्।तर माओवादीले कटवाललाई हटाएर आउँदो महिना अवकाश पाउन लागेका दोश्रो स्थानका रथी कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने तयारी गरेको बताइन्छ। माओवादी प्रधानसेनापति कटवाललाई जुनसुकै मूल्यमा हटाउन र संविधानसभाका अधिकांश दलहरुको साथ पाएको कांग्रेस कुनै पनि हालतमा हटाउनै नदिने अडानमै देखिन्छन्। लम्बिंदो उक्त विवादले जारी शान्ति प्रकृया धरापमा पर्ने र नयाँ संविधान लेख्ने प्रयास पनि साकार नहुने चिन्ता बढ्दै गएको छ।

No comments: