News

Apr 19, 2009

विश्वव्यापी आर्थिक मन्दीमा गुगलले नाफा कमायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वव्यापी आर्थिक मन्दीका कारण विश्वभर व्यावसायिक वातावरणमा गिरावट हुने क्रम रोकिएको छैन । सन् २००९ को पहिलो त्रैमासिक नतिजा सार्वजनिक गर्ने हरेक कम्पनीले करोडौं नोक्सानी व्यहोरेको तथ्यांक सार्वजनिक गरिरहेका छन् । तर, इन्टरनेट सर्च इन्जिन गुगल विश्व्यापी मन्दी जारी रहे पनि नाफा आर्जन गर्ने एक्लो बृहस्पति बन्न सफल भएको छ । मन्दीसँगै विज्ञापन बजारमा सुस्तता आएकाले गुगलको नाफा घट्ने अनुमान गरेका विश्लेषक सकेल चकित पार्ने गरी गुगलले आफनो नाफा बढाउन सफल भएको छ । पहिलो त्रैमासिक अवधिमा गुगलको नाफा ९ प्रतिशत बढेर एक अर्ब ४२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा गुगलको नाफा एक अर्ब ३१ करोड थियो । नाफासँगै गुगलको आम्दानीमा पनि ६ प्रतिश वृद्धि भएको छ । पहिलो त्रैमासिकमा गुगलको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ५१ करोड पुगेको गुगलले जनाएको छ । सन् २००८ को अन्तिम त्रैमासिकको तुलनामा आम्दानीमा ३ प्रतिशत कमी आएको तथ्यांक सार्वजनिक भएको छ । 'मन्दी गहिरिँदै गए पनि गुगलले राम्रो नतिजा निकाल्न सफल भएको छ,' प्रमुख कार्यकारी अधिकृत इरिक स्चमिड्टले भने, 'नतिजाले विश्वव्यापी मन्दी भए पनि व्यावसायिक लचकता र अनलाइन क्षेत्रमा विज्ञापनको भविष्य दुवैलाई देखाएको छ ।' गुगल मन्दीको प्रभावबाट अछुतो भने नभएको बताउँदै उनले भने, 'हामी आर्थिक रुपमा गणना नगरिएका क्षेत्रमा पछौं तर पनि मन्दीको प्रभाव नपरेको भने होइन ।'गुगल कर्पारेसनको आम्दानीको अधिक हिस्सा इन्टरनेट सर्च इन्जिन गुगल डटबाट आर्जित छ । गुगलले इन्टरनेट विज्ञापनबाट तीनमहिने अवधिमा ३ अर्ब ७० करोड अमेरिकी डलर आर्जन गरेको थियो । विज्ञापन व्यवसायको खस्किँदो अवस्था हुँदाहुँदै पनि गुगल सम्मानजक स्थानमा रहन सफल भएको उनले बताए । 'विज्ञापनदाता अझै खर्च गरिरहेछन्, फरक उनीहरूले विज्ञापन दर घटाइरहेछन,' उनले भने । विद्युतीय माध्यममा सर्दै गएको विज्ञापन व्यवसायका कारण कम्पनीलाई सहज भएको उनले बताए । अखबार तथा टेलिभिजनको विज्ञापन खर्च तुलनात्मक रुपमा महँगो हुँदा विज्ञापनदाता इन्टरनेटतर्फ आकषिर्त भएको बताइन्छ । जेएमपी सेक्युरिटिजका समित सिन्हा स्मडिटको विश्लेषणप्रति समर्थन जनाउँछन् । 'मन्दी बेलामा हरेकले खर्च घटाउने उपाय खोजिरहेछन्,' उनले भने । पहिलो त्रैमासिक सुखद भए पनि आउँदा दिन व्यवसायका लागि कठिन हुनसक्ने उनको भनाइ छ ।

No comments: