News

Apr 26, 2009

खम्बुवानको प्रतिकारमा सात घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी/ खम्बुवान राज्यको माग राखेर आन्दोलन गर्दै आएको खम्बुवान डेमोक्रेटिक फ्रन्टको सुनसरीको चतराका स्थानीय बासिन्दाले प्रंतिकार गरेका छन् ।मुखमा कालोपट्टी बाँधेका हातमा कट्टी, लाठी बोकेका ५० भन्दा बढी खम्बुवानका कार्यकर्ताले दिउँसो १ बजे बजारमा स्थानीय बासिन्दा र प्रहरीविरुद्ध नाराबाजी गर्नुका साथै जथाभावी स्थानीय बासिन्दामाथि आक्रमण गरेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका हुन् । खम्बुवान डेमोक्रेटिक फ्रन्टका महासचिव इन्द्रहाङ खम्बुको नेतृत्वमा आएका कार्यकर्ताले चतरा प्रहरीचौकीमा पनि आक्रमण गरेका थिए । प्रहरी चौकी तथा स्थानीय बासिन्दालाई आक्रमण गरी घाइते बनाएपछि चतराका पाँच सयभन्दा बढी बासिन्दाले उनीहरूको प्रतिकार गरेको प्रहरीचौकीका प्रमुख देवानसिंह तामाङले जनाएका छन् । खम्बुवान कार्यकर्ताको आक्रमणबाट स्थानीय बासिन्दा केशव राई, कृष्ण पोख्रेल, धनकेशर खत्री, चण्डु मगर घाइते भएका छन् । उनीहरूको टाउको फुटेको छ । खम्बुवान कार्यकर्ताको आक्रमणमा प्रहरी हवल्दार राजकुमार कट्टेल पनि घाइते भएका छन् । त्यसैगरी, स्थानीय बासिन्दाको प्रतिकारमा फ्रन्टका महासचिव इन्द्रहाङ खम्बु, महामन्त्री महाजित राई, कार्यकर्ताहरू विनोद खम्बु, सन्तोष खम्बु, सागर खम्बु, बाघधन राई घाइते भएका छन् । उनीहरूको पनि टाउको फुटेको छ । स्थानीय बासिन्दाको घेराउमा परेका फ्रन्टका कार्यकर्तालाई जनपथ र सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको चतरा प्रहरीचौकीले जनाएको छ । क्रन्टका कार्यकर्ताहरूले शुक्रबार राति चतरा बजारमा स्थानीय बासिन्दाको घरघरमा पसेर जथाभावी कुटपिट गर्नुका साथै आतंक मच्चाएको तीन सय स्थानीय बासिन्दाको हस्ताक्षरसहित किटानी जाहेर पनि प्रहरी कार्यालयमा परेको प्रहरीले जनाएको छ । उदयपुरमा दुईजना आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा खम्बुवानले बन्द आह्वान गरेको थियो । शुक्रबार बिहानैदेखि बजार र यातायात बन्द गराउँदै हिँडेका खम्बुवान कार्यकर्ताले चतराको बगुवामा को १ ह २५६ नम्बरको टेम्पोमाथि बन्चरो प्रहार गरी यात्रुलाई घाइते बनाएपछि चतरावासी उनीहरूको प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका स्थानीय बासिन्दाले फ्रन्टका केन्द्रीय सदस्यसहित पाँचजनालाई निर्धात कुटपिट गरी प्रहरीचौकी चतरामा बुझाएका थिए । आफ्ना कार्यकर्ता पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको विरोधमा फ्रन्टले धरानमा पनि माइकिङ गर्दै हिँड्दा यातायात मजदुरहरूले आक्रमण गरी लखेटेका थिए । शुक्रबार खम्बुवान क्षेत्रमा खम्बुवानविरोधीहरूले आफ्ना कार्यकर्तालाई आक्रमण गरी प्रहरीलाई बुझाउने काम गरेको भन्दै खम्बुवान फ्रन्टले आपत्ति जनाएको थियो । प्रहरी प्रशासन, स्थानीय राजनीतिक दल र नागरिक समाजले वार्ताको आह्वान गरेका थिए । वार्ता बस्न तयार भई शनिबार बिहान ८ बजेलाई तय गरिएको थियो । चतरा प्रहरीचौकीमा वार्ता गर्ने सहमति भए पनि खम्बुवानका कोही प्रतिनिधि नआएको चतरा प्रहरीचौकीले जनाएको छ । वार्तामा नआएर उनीहरू स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दल र प्रहरीकै विरुद्धमा नाराबाजी गर्दै हातमा घरेलु हतियार बोकेर चौकी तथा स्थानीय बासिन्दामाथि आक्रमण गर्न थालेपछि दोहोर झडप भएको थियो । सशस्त्र प्रहरीले नजोगाएको भए स्थानीयले खम्बुवान कार्यकर्तालाई त्यसै नछाड्ने स्थितिको सिर्जना भएको स्थानीय बासिन्दाले जनाएका छन् । दुई दिनसम्म झडप हुनुका साथै खम्बुवानका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएपछि चतरा बजार तनावग्रस्त बन्न पुगेको स्थानीय हिमाल राईले जनाएका छन् ।

No comments: