News

Apr 22, 2009

दलका कार्यकर्ता नै आपराधिक कार्यमा संलग्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न समूहका नाममा आपराधिक घटनामा प्रमुख राजनीतिक दलका कार्यकर्ता नै सक्रिय हुने गरेको पाइएको छ । लुम्बिनी अञ्चल प्रहरी कार्यालय भैरहवाको नौ महिनायताको अध्ययनमा आपराधिक घटनामा राजनीतिक दलका कार्यकर्ता संलग्न रहेको पाइएको हो । प्रहरीको लामो अध्ययनमा टेलिफोनबाट धम्क्याउने र विभिन्न नाममा चन्दा उठाउनेमा सत्तामा सहभागी र सत्ताबाहिरका दलका कार्यकर्ता सक्रिय छन् । लुम्बिनी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विज्ञानराज शर्माले यस अवधिमा विभिन्न अपराधमा संलग्न दलका कार्यकर्तासहित २४ जनालाई विभिन्न खालका हतियारसहित पक्राउ गरिएको बताए । उनका अनुसार नवलपरासी, रुपन्देही र कपिलवस्तुका विभिन्न ठाउँबाट उनीहरू पक्राउ परेका हुन् । नवलपरासीका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले चन्दा उठाउने र चन्दा उठाउन सहयोग पुर्‍याउनेमा माओवादी, कांग्रेस, मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ता बढी रहेको बताए । नवलपरासी प्रहरीका अनुसार जबर्जस्ती चन्दा उठाउन र अपहरण गर्न नेपाल तरुण दल नवलपरासीका उपाध्यक्ष अमिर उल्लाह संलग्न रहेको पुष्टि भइसकेको छ । फरार उनको खोजी भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताए । मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ता पनि सशस्त्र समूहसँग मिलेर चन्दा उठाउन सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ । अपराधका घटनामा राजनीतिक दलका कार्यकर्ता संलग्न रहेको पाइएकाले नियन्त्रणमा कठिनाइ भएको प्रहरीहरू बताउँछन् । सबैको सहयोगविना अपराध नियन्त्रण नहुने बताउँदै प्रहरी उपरीक्षक खत्रीले भने, 'अपराध नियन्त्रण गर्न राजनीतिक दल र नागरिक समाज सबैको सहयोग आवश्यक छ ।' सशस्त्र समूहसँग मिलेर चन्दा उठाउने र अपहरण गर्ने घटनामा राजनीतिक दलका कार्यकर्ता संलग्न रहेको पाइएपछि अपराधी संरक्षणमा दलका नेताको भूमिका रहेको स्पस्ट भएको छ । तर, नियन्त्रणका लागि दलका कार्यकर्तालाई पक्राउ गर्न नछोडेको प्रहरीले जनाएको छ । प्रहरीकै मिलेमतोमा अपहरण, चोरी-डकैती तथा चन्दा-आतंक हुने गरेको पनि प्रहरी अधिकारीहरू बताउँछन् । नाम उल्लेख गर्न नचाहने एक प्रहरी अधिकारी प्रश्न गर्छन्, 'प्रहरीले नै डाँकासँग मिलेर पैसा खाएपछि कसरी अपराध नियन्त्रण हुन्छ ?' लुम्बिनी अञ्चलअन्तर्गतका तीनवटै जिल्लामा पछिल्लो समयमा अपराध नियन्त्रणमा सुधार भएको वरिष्ठ प्रहरी उपरीक्षक शर्माले दाबी गरे । सशस्त्र समूहका नाममा चन्दा उठाउने र अपहरणमा संलग्न नाइके पक्राउ र प्रहरी कारबाहीमा मारिएपछि चोरी-डकैतीका घटनामा कमी आएको उनको भनाइ छ । उनका अनुसार प्रहरीले पछिल्लो समयमा अपराधीसँग घरेलु र विदेशी गरी ३० वटा भन्दा बढी हतियार र सोको गोली बरामद गरेको छ । साथै, एक हजार १२ वटा विभिन्न घटनाको उजुरी दर्ता भएकामा सबै घटनाका अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाइएको छ । अञ्चल प्रहरी कार्यालयमा कर्तव्य ज्यान ६४, ज्यान मार्ने १३, ठगी तीन, लागू औषध २५, सार्वजनिक अपराध एक सय ३५, नागरिकता एक, बहुविवाह १२, जबर्जस्ती करणी २६, हातहतियार खरखजाना ३०, मानव बेचबिखन सात, अपहरण पाँच, सार्वजनिक सवारी अवरोध, तोडफोड र चौपाया चोरीका एक-एक मुद्दा दर्ता भएका थिए । यसैगरी रुपन्देही, नवलपरासी र कपिलवस्तुमा लागूऔषध ओसार-पसारका घटना बढेका छन् । यसबीचमा २५ वटा घटनाको मुद्दा दर्ता गरी नौजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए । उनका अनुसार नौ महिनायता ७५ ग्राम ब्राउन सुगर, आठ सय चार ट्याब्लेट स्पास्मो, दुई सय ८३ ट्याब्लेट नाइट्रोजिन, ५५ केजी चरेस बरामद भएको छ ।

No comments: