लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वर्तमान राजनीतिक अन्यौलताको अन्त्य, सत्ता साझेदारी, शान्ति र संविधान लेखनको सुनिश्चितताका लागि सहमति जुटाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहमतिका लागि बैठकलाई निरन्तरता दिने कुरामा भने दलहरुबीच सहमति भएको छ ।बैठकमा एकीकृत नेकपा (माओवादी)ले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर सहमति गर्न नेपाली काँग्रेसलाई आग्रह गरेको र काँग्रेसले शून्यतामा उम्मेदवारी फिर्ता नलिने अडान राखेको बताइएको छ ।माओवादीले पहिला गरेको प्रतिबद्धता र सहमतिको पालना गर्नुपर्ने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा प्याकेजमा सहमति हुनुपर्ने काँग्रेसको धारणा रहेको थियो ।बैठकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र मोहन वैद्य, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, सचिव विष्णु पौडेल, नेता भरतमोहन अधिकारीलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।त्यसैगरी संविधानसभा शासकीयस्वरुप समितिको प्रतिवेदनमाथि दलहरुबीच देखिएका विवादित विषय सुल्झाउने क्रममा रहेका दलहरुले आज कस्तो खाले निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा छलफल गरेका छन् ।बैठकमा त्यसका अतिरिक्त मुलुकमा सङ्कटकाल लगाउनुपर्ने अवस्था आएमा प्रदेशको संसद रहने वा विघटन के हुने भन्ने विषयमा समेत आफ्नो दलीय अवधारणा प्रस्तुत गरेका थिए ।बैठकपछि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग कुराकानी गर्दै ढिलै भए पनि संविधानसभाअन्तर्गत गठित समितिका प्रतिवेदनमाथि दलहरुबीच मतैक्यता हुन नसकेका विषय सुल्झाउन गम्भीर ढङ्गले छलफल भएको बताउनुभयो ।नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले हाल मुलुकमा प्रयोगमा ल्याइएको समानुपातिक निर्वाचन प्रणालीको सङ्ख्या कुल सङ्ख्याको ६० प्रतिशतमात्र प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक बनाउनुपर्छ भन्ने पार्टीको अवधारणा आफूले प्रस्तुत गरेको जानकारी दिनुभयो ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी मिश्रति निर्वाचन प्रणाली पक्षमा रहेको बताउनुभयो ।संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको अग्रसरतामा संविधानसभा भवन नयाँ बानेश्वरमा शासकीयस्वरुप समितिको प्रतिवेदनमाथि दलहरुबीच देखिएका विवाद सुल्झाउन दलहरु तीन दिनदेखि छलफलमा जुटिरहेका छन् । बैठक भोलि बिहान ११.३० बजे पुनः बस्ने छ ।
No comments:
Post a Comment