News

Sep 6, 2011

सायमकालीन अदालत (रात्रि अदालत) स्थापना गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २०- अबको एघार महिनापछि सर्वोच्च अदालतले काठमाडौँ जिल्ला अदालतमा सायमकालीन अदालत (रात्रि अदालत) स्थापना गर्ने भएको छ। कार्यालय समय (१०–५) पछि बेलुकी ५:३० देखि राति ८ बजेसम्म सञ्चालन गरिने सो अदालत विद्यमान जिल्ला अदालतभन्दा छुट्टै नभएर जिल्ला अदालतबाट प्रदान गरिने सेवाकै विस्तार भएकाले सायमकालीन अदालतको नाम दिइएको हो। नियमित कार्यालय समयमा अदालत उपस्थित हुन नसक्ने सेवाग्राहीलाई वैकल्पिक व्यवस्था मिलाई सुविधा प्रदान गर्न, न्यायमा जनताको सहज पहुँच बढाउन र अदालतमा बढ्दो कार्यबोझलाई आधुनिक र सुविधाजनक ढङ्गले व्यवस्थापनका लागि सो अदालत स्थापना गर्न लागिएको बताइएको छ । साउन महिनादेखि काठमाडौँ जिल्ला अदालतमा सो अदालत स्थापना गरिने र यसको सफलतापछि मुद्दाको बढी चाप भएका ठूला सहर विराटनगर, राजविराज, जनकपुर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा पनि क्रमशः दोस्रो तथा तेस्रो चरणमा यस्तो अदालतको विस्तार गरिने सोचाइ सर्वोच्च अदालतको छ। भारत, सिङ्गापुर, मलेसिया, क्यानाडा, अमेरिकालगायतका मुलुकमा रहेको रात्रिकालीन अदालतको स्थिति, अनुभव र हासिल भएका उपलब्धिको अध्ययन गरी मुद्दाको चाप र कार्यबोझ भएका अन्य जिल्ला अदालतमा क्रमशः यस्तो अदालत स्थापना गर्दै लगिने सोचाइ बनाइएको हो। सर्वोच्च अदालतका न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा गठित समितिले हालै प्रधानन्यायाधीश खिलराज रेग्मी समक्ष सायमकालीन अदालत स्थापनासम्बन्धी प्रतिवेदन बुझाएपछि प्रधानन्यायाधीश रेग्मीले यो प्रतिवेदन सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रस्तुत गर्न रजिष्ट्रारलाई निर्देशन दिएका सहायक प्रवक्ता हेमन्त रावल बताए। सो अदालत स्थापनाका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक नभएको तर सर्वोच्च अदालतले न्यायपालिकामा अन्तरनिहित अधिकार प्रयोग गरेर व्यवस्था मिलाउन सक्ने भए पनि जिल्ला अदालत नियमावलीमा केही संशोधन गर्नुपर्ने सुझाव सो समितिले दिएको छ।

No comments: