लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/विशेन्द्र चेम्जोङ/डीबी आङ्बुङ
मोरङ,१६ भदौ २०६८,लिम्बुवानको टाँडी, मोरङमा सम्पन्न लिम्बुवानी साँस्कृतिक आमसभामा सहभागी भई फर्कने क्रममा २०६८ बैशाख १७ गते टाँडी मोरङको बस दुर्घटनामा परी सख्त घाइते भएका एलभी किसन चेम्जोङ धरानको घोपाहुँदै काठमाडौको विशेष अर्थोपेडिक अस्पतालमा उपचारपछि आफ्नो घर लिम्बुवान फर्केका छन् । एलभी किसन चेम्जोङकै गाउँ जाँते २ मोरङमा एक कार्यक्रम गरी उनलाई आफ्नो घर परिवारमा पुर्याइएको हो । घाइते किसनको उपचारको लागि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सुनसरी जिल्ला कार्य समिति र काठमाडौं उपत्यका सम्पर्क कार्य समितिले विशेष योगदान पुर्याएका थिए । उनको उपचारका लागि मंचसम्बद्ध लिम्बुवान काठमाडौ उपत्यका, यूके, हङकङ र कतारसम्पर्क समितिले विशेष आर्थिक सहयोग पुर्याएको छ । सोही बस दुर्घटनामा परी एलभीहरु विजय आङ्देम्बे र विवेक चेम्जोङले उपचारकै क्रममा ज्यान गुमाएका छन् । यो दुर्घटनामा परी ४३ भन्दा धेरै कार्यकर्ताहरु घाइते भएका थिए । घाइतेहरुमध्ये निज किसन चेम्जोङको ढाड फ्रयाक्चर भई सख्त घाइते भएका हुन् । लगातार तीनमहिनामा लाखौंको उपचारपछि उनी बैशाखीको सहाराले हिँड्न सक्ने भएका छन् ।
घाइते किसन चेम्जोङलाई लिम्बुवान उपत्यका सम्पर्क कार्य समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बू र एलभी केन्द्रीय उप-कमाण्डर मुक्साम लाबुङले काठमाडौंबाट मोरङ जाँतेसम्म पुर्याएका छन् । मिति२०६८ भाद्र १६ गते मोरङ जाँतेस्थित् घाइते किसन चेम्जोङको घरमा एक कार्यक्रम गरी उनलाई परिवारसमक्ष बुझाइको हो । उक्त अवसरमा सोही ठाउँमा मोरङ जिल्ला कार्य समिति र जाँते गाउँ कार्य समितिले एक कार्यक्रम गरी उनको उपचारमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा समितिहरुलाई विशेष सम्मानसमेत गरिएको थियो ।
लिम्बुवान जाँते गाउँ कार्य समितिका अध्यक्ष सुमन चेम्जोङको अध्यक्षतमा सम्पन्न किसनको स्वागत तथा धन्यवाद ज्ञापन गर्ने कार्यक्रमका प्रमुख अतिथि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ रहेका थिए । अतिथिहरुमा केन्द्रीय सचिवालय सदस्य नोनाम निङ्लेकू, के. सचिवालय सदस्य तथा संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङ्गाई धिमाल, के. सचिवालय सदस्य विशेन्द्र चेम्जोङ, के. स. तथा मोरङ जिल्ला इञ्चार्ज अशोक चेम्जोङ, के.स. तथा उपत्यका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बू, संघीय धिमाल स्वायत्त परिषदका सचिव मातृका धिमाल, सुनसरी जिल्ला अध्यक्ष डम्बर खजुम, एलभी के. उप-कमाण्डर मुक्साम लाबुङ, राष्ट्रिय पार्षद अमृत मादेन, राष्ट्रिय पार्षद किसन राई, एलभी केन्द्रीय उप-कमाण्डर जितु धिमाल, एलभी मोरङ जिल्ला इञ्चार्ज युद्व लिम्बू, दमक नगर इञ्चार्ज मोहन बेघा, मोरङ जिल्ला अध्यक्ष देउकुमार पन्धाक लिम्बू, मोरङ जिल्ला सदस्य भगिराज तुम्सा र युवा मञ्च सुनसरी अध्यक्ष नितेश सिङगकलगायत रहेका थिए ।
लिम्बुवान मोरङ क्षेत्र नं. ९ का सचिव जीवन खेवाद्वारा स्वागत मन्तव्यले स्वागत गरिएको सो कार्यक्रममा घाइते किसनको उपचारमा विशेष सहयोग पुर्याउने के.स. तथा उपत्यका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बू, सचिवालय सदस्य विशेन्द्र चेम्जोङ, एलभी उप-कमाण्डर मुक्साम लाबुङ, र जिल्ला अध्यक्ष डम्बर खजुममार्फ् सुनसरी जिल्ला कार्य समितिलाई सम्मान-पत्र प्रदान गरी ढाका ओडाएर प्रमुख अतिथि ज्ञानबहादुर गुरुङबाट सम्मानसमेत गरिएको थियो । साथै, उपत्यका उपाध्यक्ष तथा के. स. विष्णुकुमार यक्सो, उपत्यका उपाध्यक्ष तथा राष्ट्रिय पार्षद सेमिमा तुम्बाहाङ्फे र उपत्यका सचिव तथा राष्ट्रिय पार्षद पदम तुम्बाहाङ्फेलाई पनि घाइतेको उपचारमा विशेष योगदान पुर्याएकोमा प्रशंसा-पत्र प्रदान गरेर सम्मान गरिएको छ । कार्यक्रममा उपत्यका अध्यक्ष शिवकुमार पाङ्गेनहाङमार्फत घाइते किसनलाई आवश्यक सामग्री र औषधीहरुसमेत परिवारलाई हस्तान्तरण गरियो ।
सो कार्यक्रममा डम्बर खजुम, देउमान पन्धाक, शिवकुमार लिम्बू, मुक्साम लाबुङ, र विशेन्द्र चेम्जोङले घाइते किसनलगायतको उपचारमा भोग्नु परेको कष्ट र अनुभूतिहरु सेयर गरेका थिए । प्रमुख अतिथि लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सोही दुर्घटनामा परी ज्यान गुमाएका एलभी शहीदहरु विजय आङ्देम्बे, विवेक चेम्जोङ र दर्जनौं अन्य घाइतेहरुको सम्झना र सम्मानभाव व्यक्त गर्दै लिम्बुवानले यी योद्धाहरुको योगदानलाई कहिल्यै नबिर्सने प्रतिवद्धता जनाउनु भयो । साथै, शहीद परिवार र अन्य घाइते परिवारलाई पनि लिम्बुवानले यथासीघ्र सक्दो आर्थिक-भौतिक सहयोग गर्नेसमेत प्रतिवद्धता जनाउनु भयो । यसरी नै वहाँले अब लिम्बुवान राज्य प्राप्तिको आन्दोलन व्यापक हुँदै गएकोले कोही पनि योद्धाहरुले उपचारको अभावमा त्यसै ज्यान गुमाउनु पर्ने अवस्था नआउने बताउनु भयो । वहाँले घाइते किसनलगायतको उपचारमा विशेष आर्थिक, भौतिक र शारीरिक सहयोग गर्नुहुने देश-विदेशका शुभेच्छुक व्यक्तित्व र लिम्बुवानका सम्पर्क समितिहरुलाई हार्दिक आभार व्यक्त गर्दै विशेष धन्यवादसमेत दिनुभयो । घाइते किसनको आमा प्रीतिमाया लिम्बूको अगुवाईमा विशेष स्वागत गरिएको सो कार्यक्रमको सञ्चालन लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिसार प्रेमदीप थाम्सुहाङले गरेका थिए ।
No comments:
Post a Comment