लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयां दिल्ली, भाद्र २३ - नेपाल र बंगलादेशबीच थप एक रुटमार्फत व्यापार गर्न बाटो खुलेको छ । भारतको राधिकापुर र बंगलादेशको बिरोल जोड्ने रेल लाइन सञ्चालनमा ल्याउन नयां दिल्ली र ढाका सहमत भएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले हालै गरेको ढाका भ्रमणका क्रममा बंगलादेश र नेपालबीच व्यापारका लागि उक्त रुट प्रयोग गर्न दिने सहमतिमा हस्ताक्षर भएको हो । यसअघि बंगलादेश र नेपालबीच व्यापारका लागि जमीनमाथिको पारवहन सुविधा उपलब्ध गराउन १९७८ अगष्ट १५ मा भारत र बंगलादेशले समझदारी गरेका थिए । उक्त समझदारीपत्रमा संशोधन गर्दै राधिकापुर-बिरोल रेललाइन खुला गर्ने सहमति दुई मुलुकले गरेका हुन् । बंगलादेशतर्फको भागलाई ब्रोड गेजमा स्तरोन्नति गरी उक्त रेल लाइन सञ्चालनमा ल्याइने निर्णय भएको छ । भारततर्फको भूभागमा भने ब्रोडगेज छ । यो रेललाइन सञ्चालनमा आएपछि विराटनगर तथा कांकडभिट्टाबाट बंगलादेश व्यापार गर्न सजिलो हुनेछ । विराटनगरबाट भारतको जोगवनीसम्म जोड्ने रेललाइन निर्माणका लागि भारतले रकम दिइसकेको छ । यस्तै कांकडभिट्टाबाट भारतको जलपाइगुडीसम्म जोड्ने रेललाइन निर्माण गर्ने योजना विचाराधीन छ ।
यसअघि नेपाल र बंगलादेशबीच व्यापारका लागि भारतले दिएको रोहनपुर-सिंगवाद रुटभन्दा राधिकापुर-बिरोल रेल लाइन नेपाली भूभागबाट नजिक पर्छ । रोहनपुर सिंगवाद जोड्ने रेललाइन प्रयोग गर्न दिन २००९ मा भारतले सहमति गरेपनि प्रक्रियागत ढिलाईका कारण उक्त रुट अझै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो रेल लाइनसंगै नेपाल र बंगलादेशबीच व्यापार हुने रुटको संख्या तीन पुगेको छ । यसअघि १९९७ मा भारतले बंगलादेश र नेपालबीच व्यापारका लागि आफ्नो फूलबारी सीमाना बिन्दु प्रयोग गर्न सहमति दिएको थियो । नेपालको कांकडभिट्टाबाट फूलबारी हुंदै बंगलादेशको बंगलाबन्द जोड्ने यो सडक मार्ग नेपाल र बंगलादेशबीच व्यापार गर्ने सबैभन्दा छोटो बाटो हो ।
No comments:
Post a Comment