लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोगादिसु,भाद्र २० - सोमालियामा लामो खडेरीपछिको अनिकालले झन्डै ७ लाख ५० हजारको ज्यान जान सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । ६० वर्षयताकै खराब खडेरीपछि देखिएको भोकमरीले पूर्वी अफ्रिकाको सोमालिया, केन्या, इथियोपिया, जिबोउती, इथियोपिया लगायत देशमा हजारौंले ज्यान गुमाएका छन् । मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । ती मुलुकमा १ करोड २० लाखलाई खाद्यान्न सहयोग आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ । तर दुई दशकदेखि गृहयुद्धमा फसेको सोमालिया भने बढी अनिकालग्रस्त बनेको छ । 'सोमालियामा ४० लाख जना संकटमा छन्, पर्याप्त सहयोग नजुटे आगामी ४ महिनासम्ममा करिब ७ लाख ५० हजार जनामाथि मृत्युको खतरा छ,' राष्ट्रसंघको खाद्य सुरक्षा तथा पोषण विश्लेषण इकाईले भनेको छ । आउँदो महिना संकट अझै चुलिने राष्ट्रसंघले जनाएको छ ।
मुस्लिम विद्रोही अल सबाब समूह नियन्त्रित दक्षिणी सोमालियाको क्षेत्र बेमा राष्ट्रसंघले पछिल्लोपटक अनिकालग्रस्त घोषणा गरेको हो । मुलुकको ८ क्षेत्रमध्ये अनिकाल घोषणा गरेको यो छैटौं हो । राष्ट्रसंघ समर्थित सरकारको नियन्त्रणमा राजधानी मोगादिसु र अन्य केही क्षेत्र मात्र छन् । राहतको खोजीमा दसौं हजारले मुलुक छाडेका छन् । इस्लामिक विद्रोही अल सबाबले नियन्त्रण गरेको क्षेत्रमा मानवीय सहायताका लागि दातृ निकायहरू पुग्न सकेका छैनन् । अल कायदा सम्बद्ध उक्त समूहले दक्षिणी सोमालियाको अधिकांश क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायलाई अवरोध पुर्याउँदै आएको छ । मुलुकको राजनीतिक संकटलाई पश्चिमेली दातृ संस्थाले बढाईचढाई गरेको आरोप उनीहरूले लगाएका छन् । केही मात्रामा खाद्यान्न पुगे पनि पर्याप्त नभएको संवाददाताहरूले बताएका छन् । गत अक्टोबर र नोभेम्बरमा वर्षा भएको छ । तर बाली नपाकेसम्म महिनौंसम्म खाद्यान्न सहयोग आवश्यक दातृ निकायको भनाइ छ । सोमालियामा मात्र १४ लाख बालबालिका कुपोषणले ग्रस्त छन् । झन्डै १ अर्ब डलर आकस्मिक सहयोग आवश्यक रहेको दातृ निकायहरूले बताएका छन् । सोमालियाको सीमानजिकै केन्याको वाजिर जिल्लामा अनिकाल लागेको छ । रोगको खतरा बढेको छ ।
No comments:
Post a Comment