News

Sep 10, 2011

नेपालको मुसो हङकङमा समातियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, भाद्र २४,चारदिनको अथक प्रयासपछि शुक्रबार बिहान करिब साढे ६ बजे नेपाल वायुसेवा निगमको जहाजमा पसेको मुसा समातिएको छ । पेष्ट कन्ट्रोलर टोलीले राखेको ग्ल्यु म्याटमा मुसा टाँसिएपछि नियन्त्रणमा आएको हो । काठमाडौंबाट मंगलबार मध्याह हङकङका लागि उडेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ मा अवतरणका बेला ककपिटमै मुसा उफ्रिएको थियो । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरणपछि ग्राउन्डेड जहाज चौथोदिन मात्र शुक्रबार साँझ ५:१० बजे काठमाण्डौका लागि उडेको हो । यात्रु सुरक्षाको कारण जनाउदै हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कर्पोरेसन (हेको) ले पहिलो उडानमा सर्वसाधारण यात्रु भने राख्न दिएन । १९० सिट क्षमताको जहाजमा चालक दल र क्याविन क्रु गरी ११ जनाका साथै ५ जना कर्मचारी परिवारका टोली लिएर विमान उडेको हो । जहाज मंगलबार साँझदेखि ग्राउण्डेड रहेकाले उडनुअघि सम्पूर्ण पाटपूर्जाहरूसमेत निरिक्षण गरिएको हङकङस्थित निगम स्टेसन म्यानेजर गौरीलाल डाँगीले बताए । मुसा समात्न हेकोले मंगलबार मध्यरातीबाट नै प्रयास थालेका भएपनि नियन्त्रणमा नआएपछि बुधबार साँझबाट छुट्टै पेष्ट कन्ट्रोलर टोली लगातार खटिएको थियो । मुसा नियन्त्रणमा आएपछि विमानस्थलको खाद्य तथा स्वास्थ्य निरीक्षण टोलीले सरुवा रोग भए नभएको परिक्षण गरेको थियो । विहान ९.३० बजेबाट करिब ५ घण्टा गरिएको परिक्षणपश्चात मुसामा कुनै किसिमको हानीकारक रोग नभएको निश्चित भएपछि विमानस्थलले उडान अुनमति दिएको हो । मुसा पक्रने क्रममा विषादी छर्किएकाले जहाजमा राखिएका खाना राखिने सबै कन्टनेरहरू भने फ्याकिएको हङकङस्थित निगम कार्यालय जनायो । 'मुसा समात्न हेको लगायत पेष्ट कन्ट्रोलर टोलीले निभाएको जिम्मेवारी निकै उत्कृष्ट रह्यो,' म्यानेजर डाँगीले भने, 'मुसा समात्न सफलता मिलेकामा उनीहरू समेत निकै खुशी छन् ।' विमानका क्याप्टेन युवराज भट्टराईले यात्रुको सुरक्षाको कुरा उठाउँदै जहाजमा मुसा नभएको प्रमाणित नभएसम्म नउडाउने अडान लिएका थिए । बिहीबार विहान समेत मुसा ग्ल्यु म्याटमा टाँसिएका भए पनि फुत्किएर भागेको थियो । हेल्थ इन्स्पेक्टर टोलीले जहाज चेक गर्दा सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित विषयमा ध्यान नदिइएकाले भविष्यमा हङकङ उडान रोक्ने संकेत गर्दै रिपोर्ट बुझाएको भनी संचारमाध्यममा प्रकाशित समाचार गलत भएको म्यानेजर डाँगीले दाबी गरे ।

No comments: