News

Sep 4, 2011

गजुरेल उपप्रधानमन्त्री बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १८- माओवादी अध्यक्ष पुष्पकमल दाहालले शिविरको चाबी बुझाएपछि पार्टीभित्र उत्पन्न विवाद मन्त्रालय बाँडफाँटमा पार्टीका तीनै पक्षलाई मनाएर शनिबार साम्य पारेका छन्। सचिव सीपी गजुरेललाई उपप्रधानमन्त्री तथा परराष्ट्र, वर्षामान पुन अर्थ, अर्का सचिव पोष्टबहादुर बोगटी ऊर्जा, टोपबहादुर रायमाझी स्थानीय, जनार्दन शर्मा पर्यटन र प्रभु साहलाई भूमिसुधार मन्त्रालयमा पठाउन पार्टी नेतृत्व सहमत भएको छ। माओवादीले पाँचबुँदे प्रतिबद्धतापत्र उल्लघंन गरेर कन्टेनरको चाबी बुझाएको आरोप लगाउँदै विज्ञप्ति जारी गरेको वैद्य पक्षले शुक्रबार चक्काजाम र मसाल जुलुससमेत गरेको थियो। गत ८ गते स्थायी समितिले पारित गरेको पाँचबुँदे प्रतिबद्धतापत्र अध्यक्ष दाहालले उल्लघंन गरेकाले सडकबाट प्रतिकार गरेको प्रष्टीकरण वैद्यले दिएका छन्। आन्तरिक मुद्दालाई सडकमा लानु गलत भएको जिकिर गर्दै अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधर शनिबार स्थायी समिति बैठकमा कडा रूपमा प्रस्तुत भएको एक सहभागीले बताए।
दाहालले पनि 'साथीहरूसँग छलफल गरेर जानुपर्नेमा गल्ती भएको' स्वीकार बैठकमा गरेको एक सहभागीले बताए। 'जे निर्णय भएको छ, त्यो स्थायी समितिको हो तर प्रक्रियामा गल्ती भयो,' दाहालको भनाइ ती सहभागीले उद्धृत गरे। कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भएको बैठकमा सबै स्थायी समिति सदस्य र पदाधिकारीले बोलेका थिए। बैठकमा उठेका सबै मुद्दाको अध्यक्ष दाहालले आइतबार जवाफ दिने र मन्त्रिपरिषद्समेत विस्तार गर्ने सहमति भएको छ।
स्थायी समिति बैठकअघि शनिबार बिहान वैद्य, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापासहितको टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा भेटी मन्त्रालय बाँडफाँट टुंग्याएका थिए। शिविरको चाबी बुझाएको विरोधमा वैद्य पक्षसहित महासचिव थापा र उपाध्यक्ष श्रेष्ठ अनुपस्थित भएकाले शुक्रबार स्थायी समिति बैठक बसेन। जवाफमा दाहालले विज्ञप्ति जारी गरेर चाबी बुझाउने निर्णय पार्टीको केन्द्रीय, स्थायी समितिमा सर्वसम्मत पारित भएको जानकारी दिँदै वैद्यको विज्ञप्तिबाट उत्तेजित नहुन आग्रह गरेका थिए।
चाबी बुझाउने निर्णयलाई केन्द्रीय समितिमा छलफल गराउनुपर्ने माग वैद्य पक्षको थियो तर मन्त्रालय बाँडफाँटको सहमतिसँगै वैद्य पक्षको विरोध साम्य भएको छ। 'वैद्यले चाबी बुझाउने निर्णय केन्द्रीय समितिमा लानुपर्छ भन्ने प्रस्ताव गर्नुभयो तर बहुमत सदस्यले यो जरुरी नरहेको बताएपछि उहाँ सहमत हुनुभयो,' एक स्थायी समिति सदस्यले नागरिकसँग भने, 'टोपबहादुर रायमाझीहरू वैद्यसँग अलि बढी आक्रोशित हुनुभयो।' उपाध्यक्ष श्रेष्ठले समेत पार्टी निर्णयविरुद्ध सडकमा जानु गलत भएको बैठकमा बताएको सहभागीले उद्धृत गरे। वैद्यले भने 'पाँचबुँदे प्रतिबद्धतापत्रको अध्यक्षले नै उल्लघंन गरेपछि सांकेतिक रूपमा विरोध गरेको' उल्लेख गर्दै 'मिलेर जानुको विकल्प नरहेको' प्रस्टीकरण दिएका थिए। आइतबार ११ बजे पदाधिकारी बैठक बस्नेछ भने १ बजे स्थायी समितिले मन्त्रालय बाँडफाँटको औपचारिक घोषणा गर्नेछ।

No comments: