लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ, २६ - हङकङ, चिनियाँ कम्युनिष्ट पार्टी सचिवालय सदस्य हे योङ २१ सदस्यीय प्रमण्डलको नेतृत्व गरी आज काठमाडौँ आउँदैछन्। चिनियाँ प्रोटोकल अनुसार उपप्रधानमन्त्री सरहका योङको टोली चार्टर गरिएको विमान लिएर बेइजिङबाट सिधै काठमाडौँ उत्रने छ। भारतीय मिडियाले भ्रमणलाई 'शंका'को घेरामा राखेका छन्। नेपालको राजनीति जटिल मोडमा पुगेका बेला बेइजिङबाट हुन लागेको यो उच्चस्तरीय भ्रमणबारे भारतीय सञ्चारमाध्यमले आशंकायुक्त समाचार बनाएका छन् भने त्यसको ठिक विपरित तर आफ्नो परम्परा अनुसार चीनका सरकारी सञ्चार माध्यम मौन छन्। दुई महिनादेखि नयाँ सरकार बन्न नसकेको तथा शान्ति र संविधान निर्माण प्रक्रिया जटिल मोडमा पुगेको बेला उच्च चिनियाँ नेताले काठमाडौँमा राष्ट्रपति, प्रधानमन्त्री सहित माओवादी, काँग्रेस र एमालेका नेताहरूसँग राजनीतिक वार्ता गर्दैछन्। तीन ठूला पार्टीको निमन्त्रणामा भ्रमण गर्न लागेको जनाएर बेइजिङले कुनै एक पार्टीको पक्षधरता नदेखाउने र आन्तरिक राजनीतिक मामिलामा नखेल्ने सन्देश दिन खोजेको छ। सरकार गठनका लागि माओवादीलाई लगानी गरेको आरोपमा चीनलाई समेत मुछ्ने प्रयास भइरहेको बेला हुन लागेको यो भ्रमणमा चिनियाँ पक्ष बढी सचेत देखिएको छ।
No comments:
Post a Comment