News

Sep 10, 2010

कार्यकारी निर्देशकको कार्यालयबाटै विद्युत् चोरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ भदौ,विद्युत् प्राधिकरणले पर्याप्त सुरक्षा नदिँदा विद्युत् चुहावट नियन्त्रण गर्न नसकिएको बारम्बार सार्वजनिक गर्दै आएको छ । तैपनि आफ्नै मुख्यालय त्यसमा पनि कार्यकारी निर्देशक जीवेन्द्र झाको कार्यालयमै विद्युत् चोरी हुन्छ भन्दा अचम्म लाग्न सक्छ ? अचम्म नमाने हुन्छ । काठमाडौंको रत्नपार्कमा अवस्थित प्राधिकरणको केन्द्रीय कार्यालय त्यसमा पनि प्राधिकरणका कार्यकारी प्रमुख झाको कार्यालयबाटै दैनिक हजारौँ युनिट विद्युत् चोरी भइरहेको छ । प्राधिकरणको कार्यालयमा सञ्चालन हुँदै आएको क्यान्टिनले दैनिक रूपमा ठूलो परिमाणमा विद्युत् चोरी गर्दै आएको हो । विद्युत् चुहावट गर्न स्थानीय प्रशासन, राजनीतिक दललगायतले असहयोग गरेको बताउने प्राधिकरण आफ्नै कार्यलेको भुइँतलामा सञ्चालन हुँदै आएको क्यान्टिनबाट विद्युत् चोरी भइरहेको देखेर पनि मौन बस्ने अधिकारीमाथि कारबाही गर्न सकेको छैन । प्राधिकरणमा हुने विद्युत् चुहावटको यस्तो एउटा मात्र उदाहरण होइन, केन्द्रीय कार्यालयका अन्य भवनमा सञ्चालनमा रहेका आधा दर्जनजति साना क्यान्टिनले पनि विद्युत् चोरी गर्दै आएका छन् । प्राधिकरणले सर्वसाधारण उपभोक्तालाई भार पर्नेगरी विद्युत् महसुल बढाउन हाल २६.५८ प्रतिशतमा रहेको चुहावट चालू आर्थिक वर्षमा ३ प्रतिशत घटाई २३.५८ प्रतिशत पुर्‍याउन विद्युत् महसुल निर्धारण आयोगसमक्ष प्रतिबद्धता जनाएको छ । तर, आफ्नै कार्यालयमा भइरहेको चोरी नियन्त्रणमा भने प्राधिकरणले ध्यान दिन सकेको छैन ।

No comments: