लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २६- नेपाली कङ्ग्रेसको १२ औं महाधिवेशनमा करिब पाँच सय महिला प्रतिनिधिले भाग लिँदैछन्। नेकाको इतिहासमा महाधिवेशनमा यतिको सङ्ख्यामा महिलाले सहभागिता जनाउन लागेको यो पहिलो पटक हो। गाउँ र क्षेत्रीयस्तरको अधिवेशनमा प्रतिस्पर्धा र आरक्षणबाट ती महिलाले महाधिवेशनमा भाग लिने अवसर पाएका हुन्। असोज १ गतेदेखि हुन लागेको नेकाको महाधिवेशनामा ३ हजार १ सय महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्। यसमध्ये ४८० जना महिला, २४० जना आदिवासी जनजाति, २४० जना दलित, २४० जना मधेसी, मुस्लिम, तथा पिछडिएका समुदाय छन्।यसबाहेक खुला प्रतिस्पर्धाबाट पनि महिला, आदिवासी, जनजाति, दलितलगायतका समुदायका महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुने व्यवस्था विधानमा गरिएको छ। हाल नेकाको केन्द्रीय सदस्यमा महिला सहभागिताको सङ्ख्या सातजना मात्र रहेको छ। अब महाधिवेशनबाट कम्तीमा १३ जना महिलाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नेछन्। गत वर्षमात्र संशोधित र परिमार्जित नेकाको विधानअनुसार खुलाबाट महिला कोटामा छजना निर्वाचित हुने र आदिवासी/जनजाति, दलित, र मधेसी समुदायबाट दुई/दुईजना महिला निर्वाचित हुनेछन्। त्यसैगरी सभापति एकजना मनोनित गर्ने व्यवस्था गरिएको छ।
No comments:
Post a Comment