News

Oct 4, 2010

बेकह्यामका कारण सम्बन्धविच्छेद सेरी साबानीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लसएन्जलस/ डेबिड बेकह्यामसँग सम्बन्ध राखेको आरोपमा अमेरिकी ज्वेलरी डिजाइनर सेरी साबानी तथा उनका करोडपति वकिल पति जोसेफ काम्बिजबीच सम्बन्ध-विच्छेदको लडाइँ सुरु भएको छ । ४१ वर्षीया साबानीले अदालतमा दायर गरेको मुद्दामा आफ्नो ४२ वर्षीय पतिले फुटबल स्टार बेकह्यामसँग आफ्नो सम्बन्ध रहेको गलत आरोप लगाउन थालेको उल्लेख छ ।
केही साताअघि एक यौनकर्मीले आफूसँग शारीरिक सम्बन्ध लगाएको आरोप प्रकाशित गर्ने पत्रिकाविरुद्ध मुद्दा दायर गरेका बेकह्यामका प्रवक्ताले सो सम्बन्ध-विच्छेदको झगडामा बेकह्यामको नाम मुछिनु हास्यास्पद रहेको बताए । अदालतमा दायर गरिएको सम्बन्ध-विच्छेदको काजगमा साबानीले आफ्ना भ्रमित पतिले बेकह्यामसँग नचाहिँदो रूपमा आफ्नो नाम जोड्ने गरेको तथा काम्बिजलाई भ्रम परेको उल्लेख छ ।
बेकह्यामका तीन छोरा पढ्ने विद्यालयमा साबानीका सन्तान पनि अध्ययन गर्छन् तथा सो विद्यालयको एउटा कार्यक्रममा घटेको घटनाका कारण बेकह्याम नचाहिँदो मामिलामा फसेको साबानी बताउँछिन् । साथै बेकह्यामले साबानीसँग पनि सो मुद्दाका विषयमा कुराकानी गरिसकेका छन् ।
इंग्ल्यान्डका पूर्वकप्तान र साबानी भूलबस एक आपसमा ठोक्किँदा काम्बिजले त्यसलाई गलत ढंगबाट बुझेको पनि उनले बताइन् । दुई सन्तानकी आमा साबानीले ३५ वर्षीय बेकह्यामसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी छिन् । साथै उनले आफ्ना पतिले भ्रमको खेती गर्न लागेको आरोप पनि लगाइन् । बेकह्यामका प्रवक्ताले भने सो मुद्दाबारे केही बोल्नु अर्को हास्यापद विषय हुने बताए ।
साबानीले दायर गरेको मुद्दामा आपना सन्तानको अभिभावकत्व आफूले पाउनुपर्ने तथा आफ्ना पतिलाई जेल चलान गर्नुपर्ने उल्लेख छ । '२०१० को सुरुवातदेखि नै उनले ममाथि बेकह्यामसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएका छन्, मेरा छोराछोरीको अगाडि पनि उनी त्यो आरोप लगाउँछन् । मैले निरन्तर उसलाई यो आरोप गलत हो भनेर सम्झाउने प्रयास गर्दै आएकी छु,' साबानीले भनिन् ।
अमेरिकी सेलिबे्रेटीहरूका गहना डिजाइन गर्दै आइरहेकी साबानी बेकह्याम तथा उनकी ३६ वर्षीया पत्नी भिक्टोरियाको मित्र भएको अनुमान गरिन्छ । साबानीले भने आफूले बेकह्याम दम्पतीको गहना डिजाइन गर्ने गरेको बताइन् ।
आफ्नो १२ वर्षे दाम्पत्य जीवनमा काम्बिजले आफूमाथि अन्य व्यक्तिसँग पनि सम्बन्ध राख्ने गरेको आरोप लगाउने गरेको पनि उनले बताइन् । 'मेरो पछिल्लो जन्मदिनमा त उनले बच्चाहरूकै अगाडि ममाथि आरोप लगाए, त्यसवेला उनले बेकह्यामको एसएमएस नआएका कारण म दुःखी भएको आरोप लगाएका थिए,' उनले भनिन् । साथै उनले गत मेमा काम्बिजले बीच बाटोमै बेकह्यामको कार रोक्ने प्रयास गर्दा फुटबल स्टार झन्डै दुर्घटनामा परेको जानकारी पनि दिइन् ।

No comments: