लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, असोज १६- एकीकृत नेकपा (माओवादी) का सचिव सीपी गजुरेलले आफ्नो पार्टीको निकट भविष्यमा हुन गइरहेको विस्तारित बैठकले आन्दोलन गर्ने निर्णय तय गर्ने जानकारी दिएका छन्। उनले भने- हामीमाथि दलहरूले सर्तमाथि सर्त थुपार्ने काम गरिरहेका छन्, यसले गर्दा मुलुकको समस्या झन्झन् बिग्रिरहेको छ। गजुरेलले नयाँ सरकार र संविधानको अन्यौलताले गर्दा जनतामा वितृष्णा मात्र होइन, आक्रोश पनि बढ्न थालेको पनि बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ मोरङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा अहिले राजनीतिक र आर्थिक सङ्कट पर्नुका कारण पुराना राजनीतिक दलहरूले परिवर्तनलाई आत्मसात गर्न नसकेकाले नै यस्तो भएको चर्चा गर्दै संविधानसभाका विषयमा हरेक क्षेत्रमा मजाक बनाइरहेकोले यसतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याए। नेता गजुरेलले एकीकृत नेकपा(माओवादी)का लडाकूलाई विशेष समितिमा राख्न कुनै आपत्ति नहुने भन्दै मुलुकको समस्यालाई निकास दिन आफ्नो पार्टीले अध्यक्षलाई प्रधान मन्त्रीको उम्मेदवारीबाट फिर्ता गराएर लचकता अपनाएको बताए। उनले संविधानसभामा ठूलो राजनीतिक दलको हैसियतले आफ्नो पार्टीलाई सरकार बनाउन दिनुपर्ने जिकीर गर्दै आफूहरु सरकारमा नभएको अवस्थामा राजनीतिक दलहरूले राखेको माग पूरा गर्न सक्ने अवस्था नरहेको टिप्पणी पनि गरे।
No comments:
Post a Comment