News

Sep 5, 2010

शवोत्खनन्का लागि आयोगको विशेष टोली जनकपुरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानको नेतृत्वमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशेषज्ञसहितको १८ सदस्यीय शवोत्खनन् तथा अनुसन्धान टोली आज जनकपुरतर्फ प्रस्थान गरेको छ ।टोलीले सोमबारदेखि शव गाडिएको भनिएको स्थानमा स्थानीय प्रशासन तथा नेपाल प्रहरीसमेतको सहयोगमा उत्खनन कार्य गर्नेछ ।२०६० साल असोज महिनामा सुरक्षाकर्मीले संजीवकुमार कर्ण (वर्ष २५), दुर्गेश लाभ (वर्ष २३), जितेन्द्र झा (वर्ष २३), प्रमोद नारायण मण्डल (वर्ष १९), र शैलेन्द्र यादव (वर्ष १८) लाई बेपत्ता पारी हत्या गरी धनुषा जिल्ला गोदार गाविसमा पर्ने कमला नदी किनारमा गाडेको भनी राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको थियो । त्यस उजुरीमा आवश्यक छानबिन गरी अनुसन्धान कार्यलाई अघि बढाउन गत साउन २७ गते आयोगले ती व्यक्तिहरूको शव उत्खनन् गर्ने निर्णय गरेको थियो ।टोलीमा आयोगका पूर्व सदस्य शुशिल प्याकुरेल, अन्तर्राष्ट्रिय फोरेन्सिक विज्ञहरू प्रा. हेलेना रान्ता (फिनल्यान्ड), डा. जुक्का पालो (फिनल्यान्ड), डा. उडो केन्जर (जर्मनी), राष्ट्रिय विज्ञहरू डा. हरिहर वस्ती, डा. प्रमोद श्रेष्ठ, डा. रिजन श्रेष्ठ र डा. जेनस आचार्यका साथै पुरातत्वविद उद्धव आचार्य, राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका दिनेशकुमार झा, ओएचसिएचआर नेपालका प्रतिनिधि तथा आयोगका अधिकृतहरू रहनु भएको छ । शवोत्खनन् कार्यलाई सहज बनाउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ डा. हरिहर वस्तीको नेतृत्वमा ११ सदस्यीय प्राविधिक उपटोली समेत गठन गरिएको छ ।यसअघि शव उत्खनन् कार्यमा आवश्यक समन्वय र सहयोगका लागि राष्ट्रिय मानवअधिकार आयोगले गत शुक्रबार नेपाल सरकारका गृहमन्त्री भीम रावल, महान्यायाधिवक्ता, मुख्य सचिव, कानुन, गृह तथा प्रधानमन्त्रीको कार्यालयका सचिवहरू, नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसँग छलफल गरेको थियो । छलफलमा आयोगमा अध्यक्ष केदारनाथ उपाध्यायले पाँच जनाको शवोत्खनन्पछि हुने अनुसन्धानले दण्डहीनतालाई घटाउन सघाउने विश्वास प्रकट गर्नुभयो । त्यस्तै, हिजो शनिबार बिहान आयोगको कार्यालयमा शुशिल प्याकुरेल, कपिल श्रेष्ठलगायतका मानवअधिकारकर्मीहरूसँग यस विषयमा थप छलफल भएको थियो ।

No comments: