News

Aug 14, 2010

हङकङमा कवि मिजास तेम्बेको अर्थ अवतरणमाथि अन्तरक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/देवराज रार्इ
वेलायती नेपाली युवा कवि मिजास तेम्बे यति बेला हङकङको भ्रमणमा हुनुहुन्छ । उहाँको उपस्थितिमा हङकङेली नेपाली लेखक साहित्यकारहरुले उहाँको नव कृति कविता संग्रह अर्थ अवतरणमाथि १३ अगष्टका दिन जोर्डमा अवस्थित डीएमपी सेन्टरमा एक अन्तरक्रिया कार्यक्रममा चर्चा परिचर्चा गरे । हङकङ नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा हङकङेली राम्रा कवि र कवियत्रीहरुको उपस्थिति रहेको थियो । प्राय जसो नेपालबाट साहित्यकारहरु झिकाई विविध साहित्य कार्यक्रम गर्ने गरेका साहित्यकारहरुले पहिलो पटक नेपाल भन्दा बाहिर साहित्य साधनामा लागेको कवि मिजासको कृति माथि समालोचना गरे, प्रशंसा अनि केही सुझावहरु पनि दिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष कवि गीतकार टंक साम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गीतकार डीबी पालुङ्वाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कवि विमल राईको संचालनमा भएको कार्यक्रममा सृजनशील अराजक कवि हाङयुग अज्ञात, संगीतकार, गीतकार दिनेश सुब्बा, भयवादी साहित्यकार देश सुब्बा, समालोचक प्रदीप कन्दङ्वा लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य तथा कवि मिजासको कृति माथि टिप्पणी सल्लाह सुझाउहरु राखेको थिए ।
बेलायतलाई आधार क्षेत्र बनाई हाल ब्रुनाईमा बेलायती सेनामा कार्यरत कवि मिजासको कृतिमाथि कवि हाङयुगले उत्कृष्ट कृति रहेको बताएका थिए । उनले भने -"बेलायतलाई आधार क्षेत्र बनाई साहित्य सृजना गरिरहेका साहित्यकारहरुले नेपाली साहित्य श्रीवृद्धिमा राम्रो काम गरिरहेको छ ।" हङकङेली नेपाली साहित्यलाई इंगित गर्दै उनले भने -"हामी विविधत संघसंस्थामा रही नेपाली साहित्यको सेवामा आआफ्नै तवर तरिकाले लागि परेका छौं । हामी सहअस्थित्वमा रही साहित्य सृजना गरिरहेको छौं ।"
कार्यक्रमको अर्का वक्ता देश सुब्बाले मिजासको साहित्य लेखनमा उत्कृष्ट विम्ब संयोजन भएको र केही कविताहरु भयवादी दर्शनसँग नजीक रहेको जिकिर गरेका थिए । वक्तव्यको क्रममा समालोचक प्रदीप कन्दङ्वाले मिजासको साहित्य लेखन आदिवासी चेतनामा अगाडि बढेको टिप्पणी गरेका थिए । कार्यक्रममा संगीतका दिनेश सुब्बा र कवि टंक सम्बाहाम्फेले पनि कवि मिजासको कृतिलाई प्रशंसा गर्दै शुभकामना संदेश दिएका थिए ।

No comments: