News

Aug 11, 2010

भदौ २ गते पनि एमालेले कुनै उम्मेदवारलाई मत नहाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीका लागि यसअघि भएका निर्वाचनमा तटस्थ बस्दै आएका नेकपा (एमाले) केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले आगामी भदौ २ गते पनि कुनै उम्मेदवारलाई मत नहाल्ने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय, बल्खुमा बसेको बैठकले राष्ट्रिय सहमतिका लागि एमालेले पाँचौ चरणको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो ।बैठकपछि एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रधानमन्त्रीका लागि उम्मेदवार रहेका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्नुपर्ने पार्टीको ठहर रहेको जानकारी दिनुभयो ।बहुमतीय प्रणालीबाट प्रधानमन्त्रीको चयन सम्भव नभएकाले राष्ट्रिय सहमतिका लागि संसदको नियमावली संशोधन गर्न पनि एमाले तयार रहेको प्रचार विभाग प्रमुख ज्ञवालीले बताउनुभयो ।बुधबारको बैठकमा अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि आठबुँदे प्रस्ताव प्रस्तुत गर्दै एमाओवादीका लडाकुको समायोजन नभएसम्म शान्ति र संविधान सम्भव नभएको धारणा राख्नुभयो ।अध्यक्ष खनालले एमाले शान्ति र संविधानका लागि प्रतिबद्ध रहेको र त्यसका लागि पार्टीले पहल जारी राख्ने बताउनुभयो ।बुधबारको बैठकका तटस्थ बस्ने निर्णयमा पुनर्विचार गर्ने विषयमा विभिन्न मत आए पनि भदौ २ गतेका लागि पुरानै निर्णय कायम राख्ने सहमति भएको बताइएको छ ।पत्रकारसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै प्रधानमन्त्रीका दुवै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो ।एमाले केन्द्रीय कमिटीको अर्का बैठक आगामी भदौ ३ गते बस्ने भएको छ ।

No comments: