News

Aug 23, 2010

एमआरपी डिजाइन अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७,मन्त्रिपरिषद्ले एमआरपी वाटरमार्क (डिजाइन) स्वीकृत गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियारी दिएको डेढ साता बितिसक्दा पनि यो मुद्दा किनारा लाग्न सकेको छैन। विभागीय मन्त्री सुजाता कोइरालाले परराष्ट्र मन्त्रालयले तयार पारेको वाटरमार्क स्वीकृति गर्न नमानेपछि साउन अन्तिम साता मन्त्रिपरिषद्ले हस्तक्षेप गरी यसबारे निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको थियो। प्रधानमन्त्री नेपालले आफूमा रहेको अधिकार प्रयोग नगरी विभागीय मन्त्री कोइरालाको 'बाटो हेर्दा' विलम्ब भएको एक उच्च अधिकारीले बताए। 'यो विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्छ भन्ने प्रधानमन्त्रीदेखि सबैमा महसुस भएको छ,' ती अधिकारीले भने, 'बित्थैमा विवादमा परिने भयले सबै तर्किरहेका छन्।' प्रधानमन्त्रीले आइतबार बालुवाटारमा मन्त्री कोइराला, मुख्य सचिव माधव घिमिरे, परराष्ट्र सचिव मदन भट्टराई, प्रवक्ता दुर्गा भट्टराई, शिष्टाचार महापाल तथा एमआरपी परियोजना प्रमुख मुक्ति भट्टलगायत उच्च अधिकारीहरूसँग छलफल गरे पनि यो मुद्दा बिनानिष्कर्ष टुंगियो।

No comments: