News

Aug 27, 2010

अनमिनको म्याद ६ महिना थप्न माओवादीको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालसँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक जटिलताका बारेमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको सो छलफलमा माओवादी अध्यक्ष दाहालले अनमिनको म्याद, नेपाली सेनाको पछिल्लो सक्रियता सम्बन्धमा पार्टीको धारणा राख्नुभएको थियो ।अध्यक्ष दाहालले अनमिनको म्याद थपको विपक्षमा नेपाली सेनाले देखाएको सक्रियताप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै पछिल्ला दिनमा कतिपय दलका जिम्मेवार नेताले नै राष्ट्रपतिले शासन लिनुपर्छ भन्ने हल्ला गरिरहेकाले त्यसले राष्ट्रपति सक्रिय हुन खोजेको हो कि भन्ने आशंका उब्जिएकाले प्रष्ट पार्न आग्रह गर्नुभएको थियो ।अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठाइएकोमा माओवादी शीर्ष नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो- ‘अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठ्नु गलत हो । त्यो अब नेपाली जनतालाई स्वीकार्य छैन । पानी धमिलो पारेर माछा मार्नेहरु देखापर्न सक्छन् । तर हामी (दलहरु) मिलेरै त्यो पानी सङ्लो पार्नुपर्छ ।’उहाँले दलहरुको पछिल्लो गतिविधिबाटै जनतामा निराशा छाएकाले शान्ति प्रक्रिया र संविधान निर्माणमा यथाशीघ्र सहमति गरेर समाधान पनि दलहरुले नै दिनुपर्नेमा विशेष जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभएको छ ।प्रधानमन्त्रीले माओवादीले देखाएको चासो र चिन्ताप्रति धन्यवाद दिँदै सरकार र राजनीतिक दलहरु लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

No comments: