News

Aug 14, 2010

जनजाति महासंघको चक्काजामले पूर्वको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आदिवासी जनजाति महासंघले आज गरेको चक्काजाम र नाकाबन्दीका कारण धनकुटा लगायत पूर्वको जनजीवन प्रभावित भएको छ । समयभित्रै संविधान लेखिनु पर्ने, संविधानको माध्यमबाट राज्यको पुनसंरचना गरिनु पर्ने लगायतका माग राख्दै महासंघले देशभर नाकाबन्दी र चक्काजामको आयोजना गरेको हो । दलिय स्वार्थले राष्ट्रिय सहमतिको सरकार नबनिनु तथा थप गरिएको समयसिमा भित्र संविधान बनाउन ढिलाई गरिएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षा गराउन बन्दको आयोजना गरिएको महासंघले विज्ञप्ति मार्फ जानकारी गराएको छ । महासंघले आदिवासी जनजातिको पहिचान सुनिश्चित भएको संविधान लेखिनु पर्ने र धर्म निरपेक्षतासंग बाझिएका कानुन खारेज गर्नु पर्ने लगायतका माग पनि अघि सारेको छ ।
आज एक दिन देशव्यापी चक्का जाम र नाकाबन्दी गरिएको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखी थारुले जानकारी दिनुभयो । बन्दका कारण धनकुटा सदरमुकाम तथा अन्य मुख्य बजार समेत प्रभावित बनेको छ । धनकुटा भएर भोजपुर, तेह्रथुम, संखुवासभा तर्फचल्ने सम्पुण सवारी साधन ठप्प रहेको छ । तरकारी, दुधका ढुवानी साधन तथा एम्बुलेन्स, प्रेस लगायतका अत्यावश्यक साधन भने चलेका छन् ।
बन्दका कारण आजदेखि शुरु भएको प्रवेशिका पुरक परीक्षा सामान्य प्रभावित भएको छ । सवारी नचल्दा परीक्षा केन्द्रस्थलसम्म पुग्न परीक्षार्थी र केन्द्राध्यक्षलाई समस्या परेको जिल्ला शिक्षा अधिकारी झुमप्रसाद र्राईले जानकारी दिनुभयो । अन्य कुनै अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।

No comments: