News

Aug 31, 2010

घुस लिने सांसदलाई २० दिन थुना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५- प्रहरी निरिक्षक बनाइदिन्छु भनि घुस लिएको आरोपमा पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्कीलाई विशेष अदालतले २० दिन थुनामा राख्न आदेश दिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालत पेश गरेको कार्कीलाई 'अनुसन्धानका लागि हिरासतमा राख्न' अदालतले आदेश दिएको हो। अख्तियारले ३० दिन थुनामा राख्न माग गरे पनि विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २० दिन हिरासतमा राख्न आदेश दिएको छ।
प्रहरी हिरासतबाटै अख्तियारको रोहबरमा स्पष्टीकरण दिन अदालत पुगेका कार्कीले सोधपुछका आफू संघियता र जातिय द्वन्दमा जानुहुँदैन भन्ने प्रष्ट बक्ता भएकोले राजनीतिक गुटबन्दीको शिकार भएको बताए। 'बामदेब निकट भएका कारण बिरोधीहरुले फसाए,' कार्कीले अदालतमा वयान दिँदै भने, ' यस्तो एक दुईलाख घुस खाने खालको मान्छे भएको भए मेरो भाउ पनि एकदुई करोडको भइसक्थ्यो।' महिनाकै पचास हजार तलब भएको बताउँदै यस्तो घुस खान नपर्ने तर कसैले आफूलाई षडयन्त्रपूर्वक फसाएको उनले बताए।
आउँदो २० गते हुने प्रधानमन्त्रीको चुनाबमा आफूलाई सामेल हुन दिइयोस् भनि इजलास समक्ष अनुरोध गर्दा अध्यक्ष कार्कीले त्यसको अनुमति सभामुखबाट लिनुपर्ने बताएका थिए। कार्की र उनका अर्का सहयोगी स्वामी १००८ ब्रहमानन्द उदासिनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुस लिँदालिँदै कार्कीकै भिमसेनगोलास्थित डेराबाट सप्रमाण पक्राउ गरेको थियो।
'स्वामी भएर पनि यस्तो गर्ने?' भन्ने अध्यक्ष कार्कीको प्रश्नमा स्वामी उदासिनले भने, 'म ढाँट्दिन। म स्वामी हुँ। केटाले खाटमा राखिदिएको खाम हेर्दा त्यसमा पैसा रहेछ।'आफू राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग जुवा खेल्ने मान्छे भएको बताउँदै आफूलाई साँढेसातको दशा लागेर यस्तो भएको बताए। रामकुमार राईलाई प्रहरी निरिक्षक बनाइदिने भन्दै बैना स्वरुप एकलाख लिँदालिदै आयोग टोलीले पक्राउ गरेको थियो।
यता नेकपा एमालेले घुस प्रकरणको छानबिन गर्न तीन सदस्यीय छानबिन कमिटी गठन गरेको छ। एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य गर्नेलाई कडा कारबाही हुनुपर्ने पनि उल्लेख छ। कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुस लिँदालिँदै उनकै डेराबाट पक्राउ गरेको थियो। उनले प्रहरी निरक्षक बनाइदिन्छु भन्दै प्रतिव्यक्ति पाँच लाख उठाउने गरेका थिए।

No comments: