News

Aug 10, 2010

४४ प्रहरी विभागीय कारबाहीमा ३१ लाई पुरस्कृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गौर, रौतहट, गत आर्थीक वर्षभित्र रौतहटका ४४ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् भने उत्कृष्ट कार्य गरेबापत ३१ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पुरस्कृत गरेको जनाएको छ। जिम्मेवारीविमुख हुने चार जना प्रहरी भने सेवाबाटै बर्खास्तीमा परेका छन्। गत आर्थिक वर्षको विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय रौतहटले कनिष्ट प्रहरी अधिकृतसहितकालाई नसियत टाइम स्केल घटुवा पदोन्नति रोक्कालगायतको विभागीय कारबाही गरिसकेको जनाएकॊ छ। प्रहरीस्रोतका अनुसार विभागीय कारबाहीमा नसियत पाउनेमा प्रहरी सहायक निरीक्षक चार जना प्रहरी हवल्दार छ जना र प्रहरी जवान १७ गरी २७ जना रहेका छन्। यस्तै प्रहरी सहायक निरीक्षक दुई जना प्रहरी हवल्दार एक जना र प्रहरी जवान आठ जना गरी ११ जनाको पदोन्नति रोक्का एक प्रहरी जवान निलम्बन र अर्का एक प्रहरी जवानको तल्लो टाइम स्केलमा घटुवा गरिएको छ।साथीको मोबाइल चोरेको अभियोग लागेका प्रहरी जवान सन्तोष ठाकुर लामो समय हाजिर नभएका प्रहरी जवान डोलराज मल्ल शम्शेर कार्की र धर्मनाथ चौहानलाई नोकरीबाट नै हटाइएको छ। विभागीय कारबाही पाएकाहरुले संगठनको नीतिविपरीत आर्थिक लाभ लिएको गैरहाजिर ड्युटीको समयमा मादकपदार्थ सेवन तथा पदीय दायित्वमा विमुख बनेकाहरु रहेको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो। यसै गरी उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक किरण सिंह पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उहाँले गतवर्षको माघ १ गते अपहरणमा परेका भारत सीतामढी जिल्लाका दयानन्द महतोको १२ वर्षीय छोरा उमाकान्त महतोलाई रौतहटको पिपरारजवडा गाविसस्थित बागमती नदीको फाँटबाट अपहरणकारीसँगको भिडन्तमा सकुशल उद्धार गरेकोले पुरस्कृत गरिएको जनाइएको छ।

No comments: