News

Aug 28, 2010

कांग्रेसले पूर्णकालीन कार्यकर्ता बनाउने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ भदौ : कांग्रेसले १२औँ महाधिवेशनमा पूर्णकालीन कार्यकर्ता बनाउने प्रस्ताव लैजाने भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमअन्तर्गतको संगठन सुदृढीकरण योजनामा पूर्णकालीन कार्यकर्ताको प्रस्ताव गरिएको हो । कार्यकर्ताको आत्मरक्षाका लागि 'तरुण दस्ता' बनाउन दबाब परेका वेला कांग्रेसले पार्टी जीवनमा पहिलोपटक पूर्णकालीन कार्यकर्ता राख्ने प्रस्ताव तयार गरेको हो । नयाँ पत्रिकालाई शुक्रबार प्राप्त सो योजनामा पूर्णकालीन कार्यकर्ता कसरी सञ्चालन गर्ने भन्नेबारे भने केही उल्लेख गरिएको छैन । कम्युनिस्ट पार्टीमा पूर्णकालीन कार्यकर्ता रहने प्रचलन छ । योजनामा गाउँ, क्षेत्र र जिल्ला समितिमा पूर्णकालीन कार्यकर्ता बनाउने र उनीहरूले निरन्तर कार्यकर्तासँग भेटघाट र सन्देश आदनप्रदान गर्ने प्रस्ताव गरिएको छ । साथै, नगर र गाउँ समितिको नियमित बैठक बसेर पार्टीको कार्यक्रम सञ्चालन गरे-नगरेको पनि उनीहरूले अनुगमन गर्ने उल्लेख गरिएको छ । कांग्रेसमा हाल साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्य रहेका छन् ।

No comments: