News

Aug 23, 2010

आइतबार देशभरका सुनचाँदी पसल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ भदौ : नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति तथा बिक्री-वितरणमा पछिल्लोपटक जारी गरेको निर्देशनको विरोधमा नेपाल सुनचाँदी व्यवसायी संघले आइतबार देशभरका सुनचाँदी पसल बन्द गरेका छन् । स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको संघले आइतबार मूल्य निर्धारण गरेन । संघले निर्णय फिर्ताका लागि दबाब दिन सोमबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा धर्ना दिने निर्णय गरेको छ । केन्द्रीय बैंकले भदौ २ गते निर्देशिका जारी गर्दै संघको सिफारिसमा मात्रै बैंकबाट सुन खरिद गर्न पाउने एकाधिकारलाई तोड्दै सुनचाँदी कला व्यवसायी संघ र रत्न तथा आभूषण संघको सिफारिसमा पनि खरिद गर्न पाउने व्यवस्था गरेको थियो । वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस गर्ने, आयात लागि सिफारिस गर्ने र मूल्य तोक्ने काम सुनचाँदी व्यवसायी संघले गर्दै आएको थियो ।
संघको शनिबार बसेको बैठकले आइतबार र सोमबार देशभरका सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको निर्णयले आफ्नो व्यवसाय संकटमा परेको भन्दै संघले निर्णय फिर्ता लिन दबाबका लागि आन्दोलन गरेको हो । संघका सदस्य राजभाइ बज्राचार्यले केन्द्रीय बैंकले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताए । संघका पदाधिकारीले उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीलाई आइतबार भेटी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । यता, राष्ट्र बैंकको निर्णयको नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल रत्न तथा आभूषण संघले भने स्वागत गरेका छन् । 'बैंकले गरेको नयाँ व्यवस्थाले सुनमाथि सीमित व्यक्तिको एकाधिकारको अन्त्य गरी गरगहना बनाई जीविकोपार्जन गर्ने साना व्यवसायीको पहुँचमा ल्याएको छ,' उनीहरूले आइतबार निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । उनीहरूले संघले गरेको आन्दोलनलाई एकाधिकार तोडिएपछिको पीडा पोखेको आरोप लगाएका छन् ।

No comments: