News

Aug 28, 2010

माओवादी नेताद्वारा पार्टी एकतामा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १२,एकीकृत नेकपा (माओवादी) का स्थायी कमिटी सदस्यहरूले पार्टीले एकता र क्रान्तिकारी कार्यदिशा पारित गरेर अघि बढ्नुपर्ने बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा शनिबार बोल्ने नेताहरुले तीनवटै नेताले पेश गरेका प्रतिवेदनमा टिप्पणी गर्दै पार्टी एकतामा जोड दिएका हुन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र डा बाबुराम भट्टराईले अलग अलग राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। शनिबार बोल्ने नेताहरुले प्रस्तुत तीनै प्रस्तावलाई एक-अर्काको समानान्तर नभई पूरक ठानेर एकीकृत दस्तावेज तय गरी पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने सुझाव दिएका छन्।
केन्द्रीय सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्यहरू कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, नेत्रविक्रम चन्द र पोलिटव्युरो सदस्य हरिवोल गजुरेलले सो सुझाव दिएको हुन्। स्थायी समिति सदस्यहरू अमिक शेरचन, दीनानाथ शर्मा र लिलामणि पोखरेल आजको बैठकमा उपस्थित भएनन्। उनीहरुले भोलि ११ बजेदेखि सुरु हुने बैठकमा आफ्ना धारणा राख्नेछन्। स्थायी समिति सदस्यले आफ्नो धारणा राखिसकेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सुरु हुनेछ।

No comments: