News

Aug 16, 2010

रोजगारीका लागि लिबिया पुगेका नेपाली अलपत्र परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ, साउन ३१- वैदेशिक रोजगारीका लागि लिबिया पुगेका टाँडी गाविसका ६ युवालाई कम्पनीले बन्धक बनाएको छ। पैसा कमाउन विदेश गएका छोरा उतै बन्धक बनाइएको खबर पाएपछि आफन्त चिन्तामा छन्। पीडित युवाले टेलिफोनमार्फत् विदेशमा सहनु परेको वेदना सुनाएपछि आफन्त चिन्तित बनेका हुन्। 'साहुले दिनदिनै ऋण तिर्न दबाब दिइरहेका बेला छोरा बन्धक बनाइएको खबरले आयो', बाबु गोबिन्द्र लिम्बुले भने।
८ महिनाअघि झापा दमकको ब्रोड वे ओभरसिजमार्फत लिबिया गएका टाँडी-८ का एनवी लिम्बु, सोही गाविसका दलबहादुर मगर, सनबहादुर मगर, प्रेमबहादुर मगर, रमेश खनाल र भुपेन्द्र घिमिरे बन्धक बनाइएका हुन्। एकैपटक उडेका सबै जनालाई कम्पनीले खाना समेत राम्ररी खान नदिई जबरजस्ती थुनेर राखेको आफन्तले बताएका छन्। 'यहाँ बन्धक भइएको छ, बुबा मलाई चाँडो नेपाल फर्कने वातावरण मिलाइदिनुहोस्', एनवीले पाँच दिनअघि टेलिफोनबाट सुनाएको उद्धृत गर्दै बाबु गोबिन्द्रले सोमबार नागरिकन्युजसँग भने- 'लौन कसरी नेपाल फर्काउने हो पहल गरिदिनुपर्‍यो।' उनीहरुसहित त्यही कम्पनीमा काम गरिरहेका अन्य ५१ जनालाई पनि बन्धक बनाइएको छोराले टेलिफोनमा बताएको उनले बताए।
ब्रोड ओभरसिजले मासिक २० हजार रुपैयाँ दिने भन्दै निर्माण सम्बन्धी कामका लागि मंसिरमा उनीहरुलाई लिबिया पुर्‍याएको हो।
'गएदेखि एकैरुपैयाँ पैसा पनि दिएको छैन रे', लिम्बुले भने, 'नेपाल पठाइदिनु भन्दा पनि दिँदैन अरे।' १ लाख ६० हजार ऋण गरी बिदेशमा पैसा कमाउन पुगेका छोराहरु अलपत्र परेपछि आफन्त हारगुहार गर्दै सुरक्षित नेपाल फर्काइदिन सरकारलाई आग्रह गरेका छन्।

No comments: