News

Aug 17, 2010

युद्ध तयारीका लागि भन्दै हङकङमा चन्दा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,/निर्मल श्रेष्ठ
भाद्र १ - गत बैशाखमा खोटाङको नुनथला प्रहरी चौकी आक्रमण गरी हतियार, गोली र सञ्चार सेट लुटेको किराँत जनवादी वर्कर्स पार्टीले यस्तै अर्को तयारीका लागि सहयोग गर्न अनुरोध गर्दै हङकङस्थित एक संस्थालाई चन्दा रसिद पठाएको छ । जातीय मुक्तिको माग राख्दै पूर्व केन्द्रीत आन्दोलन गर्दै आएको उक्त पार्टीले हालै संस्थाका अध्यक्ष देबीदास राईका नाउँमा चन्दा संकलन गरिदिन अनुरोध पत्र सहित रसिदको ठेली पठाएको हो । भूमिगत उक्त पार्टीले अन्यायपूर्वक धरपकड भइरहेकाले जिउधनको सुरक्षा तयारीका लागि आर्थिक सहयोग गरिदिन पत्र र टेलिफोनमार्फत आग्रह गर्ने गरेको राईले बताए । गत जेष्ठ २३ गते कोशी अञ्चल प्रहरी कार्यालय धरानले लुटपाट, आगजनी र प्रहरी चौकी आक्रमणमा संलग्न रहेको बताउदै वर्कर्सका पाँच उच्च नेतालाई सार्वजनिक गरेको थियो ।
'मेरो उहाँहरुसँग कुनै चिनजान छैन, पार्टीप्रति आस्थावान पनि होइन्,' एक दशक बढी देखि नेपाल नगएको बताउने खोटाङबासी राईले भने, 'छिमेकीबाट मेरो मोबाइल नम्बर र ठेगाना लिएपछि सहयोगका लागि सम्पर्क गरिरहेका छन् ।' कुराकानीका भरमा मात्र सहयोग गर्न नसकिने बताएपछि उनीहरुले हालै पार्टीको विधान र आधिकारिक पत्र समेत पठाएको राईले बताए । यहाँ स्थित विभिन्न संघसंस्थामा आबद्व उनलाई 'आङदेन' नाम बताउने एक महिलाले पटक-पटक सम्पर्क गर्ने गरेको पनि उनले खुलाए । उक्त महिलाले हङकङ बस्ने केही व्यवसायीबाट राम्रो सहयोग भएको बताउने गरेको पनि उनले जनाए । 'खोटाङमा प्रहरीको हतियार हामीले नै खोसेका हौं,' सम्पर्कवालाको भनाइ उद्धृत गर्दै संस्थाका अर्का सदस्य अधिराज राईले भने, 'फेरि यस्तै तयारी गनुर्छ, सक्दो सहयोग गर्नुपर्‍यो भन्छन् ।' सम्पर्क गर्नेहरुले आफूरुलाई कुनै किसिमको डर धम्की भने नदिएको उनले बताए ।
भूमिगत पार्टीले हङकङ बस्नेहरुलाई माग गर्ने गरेको यस्तो आर्थिक सहयोग यो नै पहिलो भने होइन् । त्यसो त माओवादी जनयुद्धकालमा समेत हङकङबाट आर्थिक सहयोगका लागि नेपालमा रहेका परिवारलाई दवाब दिइने गरेको इन्द्र वनेमले बताए । 'त्यस्तै दवाबमा मैले पनि पाँच हजार हङकङ डलर पठाएको थिए,' उनले भने, 'म जस्ता सहयोग दिने थुप्रै छन् ।' भोगने राईले समेत द्वन्द्वका मारमा खर्च समेत धान्न मुस्किल चलचित्र भवन चलाएवापत माओवादी कार्यकर्ताहरुले पाँच लाख रुपैयाँ पठाउन दवाब दिएपछि खोटाङमा रहेको उक्त भवन नै बन्द गर्नु परेको सुनाए । गतबर्ष समेत खुम्बुवान राष्ट्रिय मोर्चाले राष्ट्रिय सम्मेलनका लागि भन्दै यस्तै सहयोग रसिद पठाएको भोगेन राई बताए । 'म कुनै मोर्चा वा पार्टीको पक्षधर होइन,' उनले भने, 'चिनेजानेकाले सहयोग गरिदिनु पर्‍यो भन्दै रसिद कटाउछन् सय पचास डलर के नै फरक पर्छ र भनेर दिइन्छ ।' आर्थिक सहयोग गरिदिन अनुरोध गर्नेहरुमा खुला ठूला राजनीतिक दलहरु समेत पछि नरहेको वनेमले बताए । 'चुनाव, पार्टी अधिवेशन लगायतका कार्यक्रममा सहयोगको आग्रहसहित पत्र पठाउने गरेका छन्,' उनले भने ।

No comments: