News

Aug 21, 2010

अनमिनको म्याद थप्नेबारे दलका नेताहरूसँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ भदौ : नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको म्याद थप्नेबारे शुक्रबार दलका नेताहरूसँग छलफल भएको छ । छलफलमा अनिमिनले तत्काल आफू नबाहिरिने संकेत दिएको छ । प्रमुख दलका शीर्ष नेताहरूसँग भएको छलफलमा अनमिन प्रमुख करिन लेनग्रेनले शान्तिप्रक्रियासँग सम्बन्धित सबै काम पूरा भएपछि मात्रै नेपालबाट आफू बाहिरिने संकेत दिएकी हुन् । 'शान्तिप्रक्रियाको अभिन्न अंग माओवादी लडाकुको व्यवस्थापन र पुनस्र्थापनको काम सकिएकै छैन,' अनमिनका प्रवक्ता कसमस विश्वकर्माले नयाँ पत्रिकासँग भने, 'शान्तिप्रक्रियाको मुख्य काम छिटो सम्पन्न गरेपछि अनमिन फर्किन चाहन्छ भन्ने कुरा नै अनमिन प्रमुखले दलका नेताहरूसँगको भेटमा राख्नुभयो ।' गौशालास्थित द्वारिकाज होटलमा भएको छलफलमा म्याद सकिनै लाग्दा पनि प्रमुख दलहरूले अनमिनबारे कुनै चासो नदिएको भन्दै लेनग्रेनले असन्तुष्टि जनाएकी थिइन् । 'शान्तिप्रक्रियामा आधारभूत कामहरू चाहेजस्तो गरी अघि नबढेकोमा अनमिन प्रमुखको चिन्ता हो,' विश्वकर्माले बताए ।
अनमिनको म्याद १५ सेप्टेम्बरमा सकिँदै छ । तर, दलहरूबीच भने अनमिनको म्याद थप्ने-नथप्नेबारे कुनै सहमति जुटेको छैन । छलफलमा सहभागी कांग्रेस नेता डा. रामशरण महतले प्रमुख राजनीतिक दलहरूले सरकारसँग कुराकानी गरेपछि म्याद थप्ने-नथप्नेबारे आधिकरिक धारणा ल्याउने बताए । स्रोतका अनुसार माओवादी नेताले भने अनमिनको म्याद शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुगिन्जेल कायमै रहने बताएका थिए । तर, कांग्रेस र एमाले नेताले ठोस धारण नराखी बाहिरिएका थिए । छलफलमा माओवादीका वर्षमान पुन अनन्त, कांग्रेसका डा. रामशरण महत र एमालेका ईश्वर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए ।

No comments: