News

Aug 29, 2010

झुट समाउने सफ्टवेयर नेपाली बजारमा आउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कलेज बंक गरेर पनि होइन भनेर घरपरिवारसँग बयान दिँदै हुनुहुन्छ ? झुटो नबोल्नूस् । तपाईंले अभिभावकको मार खेप्नुपर्ला । कलेज बंक गर्दै नगरेको जिद्दी गर्नुभयो भने सजायको भागीदार पनि बन्न सक्नुहुन्छ । किनकि प्रविधिले झुटो बोल्दैन । तपाईं कलेजमा उपस्थित नभएको वा कलेज बंक गरेको सन्देश तपाईंको अभिभावकको मोबाइलमा सबुतका रूपमा हुन सक्छ । तपाईंले घरमा नबताए पनि तपाईंले कलेज बंक गरेको म्यासेज घरमा पहिले नै पुगिसकेको हुन सक्छ ।
विद्यार्थीको प्रत्येक क्रियाकलाप र स्कुल तथा कलेजको जानकारी अभिभावकलाई दिने एउटा सफ्टवेयर चाँडै नेपाली बजारमा आउँदै छ । यो सफ्टवेयरमार्फत विद्यार्थीको गतिविधिको जानकारी एसएमएसमार्फत अभिभावकलाई पठाउन सकिन्छ । विद्यार्थीको हरेक क्रियाकलापको जानकारीे घरपरिवारसम्म सजिलै पुगेको हुन्छ ।
विगत केही वर्षदेखि स्कुल, कलेज तथा अस्पतालका लागि म्यानेजमेन्ट सिस्टमको विकास गर्दै आएको मिदास टेक्नोलोजिज प्रालिले यस्तो सफ्टवेयर तयार गरेको हो । आगामी बुधबारदेखि राजधानीमा सुरु हुने मिदास क्यान सफ्टेकमा मिदासले यो सफट्वेयर सार्वजनिक गर्दै छ ।
यो सफ्टवेयरमार्फत स्कुल, कलेजको नेटवर्कमा राखिएको कम्प्युटर र मिदासबीच कनेक्सन हुन्छ । कलेजबाट प्रवाहित भएको सूचना मिदासको सर्भरमा आउँछ र त्यसपछि नेपाल टेलिकम वा एनसेलको नेटवर्क हँुदै अभिभावक वा विद्यार्थीकोमा जान्छ ।
मिदास कम्युनिकेसन सिस्टम नाम दिइएको यो सफ्टवेयरको प्रयोगबाट स्कुल, कलेज र विद्यार्थीका अभिभावकबीच सञ्चार सम्पर्क बढाउन सहयोग पुग्ने विश्वास सफ्टवेयर निर्माता मिदास टेक्नोलोजिजका प्रबन्ध-निर्देशक छत्रहरि कार्कीको छ । अहिले हरेकजसो व्यक्तिसँग मोबाइल भएकाले त्यसको प्रयोग गरेर व्यवस्थापन प्रणालीलाई सजिलो बनाउन सकिने कार्की बताउँछन् ।
विद्यालयमा अचानक कुनै बिदा भयो र त्यसको जानकारी विद्यार्थीलाई गराउनुपर्ने अवस्थामा पनि सफ्टवेयर प्रभावकारी हुने विश्वास निर्माताको छ । 'हरेकलाई फोन वा एसएमएस गरिरहनुपर्दैन । कुनै पनि सूचना इन्ट्री गरेपछि डाटाबेसमा भएका सबै नम्बरमा स्वतः एसएमएस जान्छ,' कार्कीले भने ।
कलेजले पठाउन चाहेको सूचना ७७०० नम्बरमा पठाएर पोस्ट गरेपछि एकैपटक सबै विद्यार्थीलाई एसएमएस जान्छ । त्यस्तै, कलेजको कुनै सूचना विद्यार्थीले जान्न चाहेमा पनि कलेजको नाम लेखेर ७७०० मा पठाएपछि सूचना प्राप्त हुन्छ । त्यस्तै, विद्यार्थीले फी तिरिसकेपछि त्यसको जानकारी अभिभावकलाई जान्छ । यसबाहेक
सफ्टवयेरको प्रयोगबाट विद्यार्थीको रुटिन, रिजल्ट, बिल, एटेन्डेन्स आदिको जानकारी पनि एकैपटक सबै अभिभावकलाई पठाउन सकिन्छ । यसका लागि प्रतिएसएमएस २ रुपैयाँ शल्क तिर्नुपर्छ ।
मिदासले नै तयार गरेको स्कुल स्टि्रमलाइन नामक म्यानेजमेन्ट सिस्टमको प्रयोग अहिले ४ सयभन्दा बढी स्कुल तथा कलेजले गरिरहेका छन् । विद्यार्थीको डाटाबेस राख्ने, बिलिङ गर्ने, एटेन्डेन्स गर्ने तथा मार्कसिट तयार गर्नेलगायतका कामलाई यो सिस्टमले छिटो र सजिलो बनाएको स्कुल, कलेजको अनुभव छ ।

No comments: