News

Aug 29, 2010

फोरमले आगामी निर्वाचनमा भने मत लगाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १३ - पाँच पटकसम्म भएको प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेको मधेसी मोर्चाको एक घटक मधेसी जनअधिकार फोरमले आगामी निर्वाचनमा भने मत लगाउने भएको छ । तर छैठौं चरणको निर्वाचनमा माओवादी या कांग्रेस मध्ये कुनचाँही उम्मेदवारलाई भोट दिनेबारे भने फोरमका अध्यक्ष उपेन्द्र यादवले खुलाएनन् । राष्ट्र संरक्षण साप्ताहिक पत्रिकाको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा यादवले मोर्चा अबको निर्वाचनमा तटस्थ नबस्ने खुलासा गरेका हुन् । मधेसवादी दलसलाई वेवास्ता गरिए मुलुकमा ठूलो अनिष्ट हुने भन्दै मधेसका मुद्दाहरुलाई सम्वोधन गर्न उनले तीन ठूला दललाई सुझाव दिए । माओवादी र कांग्रेसले हलो अड्काएकाले समस्या थपिएको अध्यक्ष यादवको आरोप थियो । 'मधेशको मुद्दालाई कांग्रेसले स्विकार्नै नसक्ने, एमालले टेर्दै नटेर्ने र माओवादी गल्दै नगल्ने भएको कारण मुलुक अनिर्णयको बन्दी बनेको छ,' उनले भने । यादवले विगतमा कांग्रेसले एमालेलाई बोकेको भए पनि अहिले आएर एमालेले कांग्रेसलाई सहयोग गर्न नचाहेको भन्दै तटस्थ बसेर यसरी लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे । कार्यक्रममा कांग्रेसका महामन्त्री डा. रामशरण महतले माधवकुमार नेपालको राजिनामापछि स्वभाविक रुपमा कांग्रेसको पालो आएको भन्दै आगामी २० गतेको निर्वाचनमा एमाले र मधेसवादी दलहरुले आफ्नो पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्नु पर्ने बताए ।

No comments: