News

Aug 24, 2010

विदेशमा फोन गर्न सकिने पाँचवटा वेबसाइटमाथि प्रतिवन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ८,दूरसञ्चार प्राधिकरणले इन्टरनेटबाट सस्तोमा विदेशमा फोन गर्न सकिने पाँचवटा वेबसाइटमाथि प्रतिवन्ध लगाएको छ। पाँचवटा साइटहरुबाट गैर कानुनी ढंगले विदेशमा कल भएपछि प्राधिरकणले प्रतिबन्ध लगाएको हो। प्राधिकरणले यी साइटहरु नखुल्ने व्यबस्था गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरण स्रोतका अनुसार www.nepalicalls.com, www.rynga.com, www.smartvoip.com, www.jumblo.com र ७४.१३३.१२५.११४ डोमेन भएका साइट छन्। 'यी साइटबाट अवैध रुपमा टेलिफोन चलाइएको पाइएकोले बन्द गर्न निर्देशन दिइएको हो,' प्राधिकरण अनुमति शाखाका प्रमुख दिपेश आचार्यले भने। यी साइटहरुमा गएपछि त्यसबाट बढीमा प्रति मिनेट एक रुपैयाँ तिरेर संसारभरि जहाँसुकै पनि फोन गर्न सकिन्थ्यो। अपराधिक घटनामा पनि यस्तो साइट हुँदै गएका कलहरु प्रयोग भएको देखिएपछि प्राधिकरणले रोक लगाउने निर्णय गरेको हो। यस्ता साइटहरुले गर्दा कानुनी प्रकृया पुरा गरेर टेलिफोन चलाउने कम्पनीलाई नोक्सानी पुगेको, सरकारी राजश्व गुमेको छ। दूरसञ्चार सेवा प्रयोग गर्दा १३ प्रतिशत भ्याट र १० प्रतिशत दूरसञ्चार सेवा शुल्क तिर्नुपर्छ।
'प्राधिकरणको निर्देशन अनुसार हामीले सोमबारबाट ती सबै साइटहरु बन्द गरिसक्यौं,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। अधिकांश साइबर क्याफेहरुले यिनै साइटमा गएर सस्तोमा विदेश कल गराउँदै आएका थिए।

No comments: