News

Aug 27, 2010

ठमेलका अवैध मसाज पार्लर बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ठमेलमा अवैधानिक रूपमा सञ्चालित मसाज व्यवसाय नियन्त्रणका लागि प्रहरीको निगरानी बढेपछि मसाजको नाममा यौनधन्दा चलाउने व्यवसायी संकटमा परेका छन् । ठमेल क्षेत्रमा सञ्चालित ८० प्रतिशत मसाज व्यवसाय गैरकानुनी भएको भन्दै प्रहरीले निगरानी बढाएपछि व्यवसायी संकटमा परेका हुन् । ठमेललाई व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन र विकृति हटाई पारिवारिक वातावरण बनाउन प्रहरीले निगरानी बढाएको लैनचौर प्रहरीले बताएको छ ।
ठमेलमा सञ्चालित मसाजमा अधिकांशले हिमालयन हर्बल केयर, बडी केयर, प्राकृतिक उपचार केन्द्रको नाममा यौनधन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । यस्तो व्यवसाय गर्ने करिब ५० व्यवसायी ठमेलबाट हटिसकेको प्रहरीले बताएको छ । ठमेलमा सञ्चालित सयभन्दा बढी मसाज व्यावसायीमध्ये २० प्रतिशतले मात्र मसाज व्यवसाय गरेकाले अन्यलाई कानुनी मर्यादामा ल्याउन प्रहरी छापालाई निरन्तरता दिइएको प्रहरीले बताएको छ । प्रहरीको निगरानी बढेपछि मसाजको नाममा यौनधन्दा चलाउने व्यवसायी व्यवसाय नै बन्द गरी भाग्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
मसाजका नाममा अन्य धन्दा गर्ने ठमेलका नेचुरल हिलिङ सेन्टर, ट्रेकर्स सर्भिस सेन्टर, आयुर्वेदिक नेचुरल्ली मसाज सेन्टर, जो नेचुरल हर्बल आयल मसाज, एक्जुकेटिभ मसाजलगायतका प्रहरी छापापछि बन्द भएका छन् भने कतिपय छापा मार्नुअगाडि नै भागेका छन् । प्रहरीले अवैध धन्दा चलाएको आरोपमा ६ सय ५० भन्दा बढीलाई पक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही गरेको छ, जसमा ५० भन्दा बढी व्यवसायी छन् ।
मसाज व्यवसायी संघले भने प्रहरीले मनलागी छापा मारी मसाज व्यवसाय गर्ने सबैलाई लगेर दुःख दिने गरेकोे आरोप लगाएको छ । विकृति बढाउन प्रहरी प्रशासन र घरमालिक नै लाग्ने गरेको आरोप संघको छ । घुस खुवाउने व्यवसायीलाई प्रहरीले नै भगाउने गरेको संघको भनाइ छ । अमर्यादित र विकृतिजन्य काम गर्ने व्यावसायीलाई प्रहरीसमक्ष पुर्‍याउन सहयोग गरिने संघले बताएको छ ।

No comments: