News

Aug 22, 2010

साना दलले छैठौँपटकदेखि प्रधानमन्त्री चुनाव बहिष्कार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ६,संविधानसभाका साना दलले छैठौँपटकदेखि प्रधानमन्त्री चुनाव बहिष्कार गर्ने बताएका छन्। तीन ठूला दल सहमतिमा नआए संसदमै नजाने उनीहरूले चेतावनी दिए। साना दल र तीन ठूला दलबीच संविधानसभा भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनीहरूले सहमतिका लागि ठूला दललाई दबाब दिए। ठूला दलले जनतालाई सधैँ हैसियतको भ्रम देखाएको भन्दै साना दलका प्रतिनिधिले आश्वासन नदोहोर्‍याउन आग्रह पनि गरे। 'कुरामात्रै भयो, सहमति भएन, यही ढंगले ७ गते पनि चुनाव परिणामविहीन हुन्छ। ८ गतेदेखि हामी संसद् जाँदैनौँ, आन्दोलनमा जान्छौँ,' नेकपा संयुक्तका चन्द्रदेव जोशीले भने। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनालले साना दलसँग छलफल गरेका थिए। 'उनीहरू (ठूला दलका नेता) अहिलेसम्म पत्रिका, रेडियो, टेलिभिजनमा आइसकेकै भनाइ दोहोर्‍याएर गए, अरू केही भएन,' जोशीले भने। साना दलले ठूला दलबीच सहमतिका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए। त्यसमा पौडेल सहमत भए पनि श्रेष्ठ र खनालले कुनै प्रतिक्रिया दिएनन्।'तपाईंहरूले सहमतिको नारामात्रै दिनुभयो, व्यवहार गर्नुभएन, सहमतिबिना निकास सम्भव छैन। यही प्रक्रिया जारी रहे संसद् बहिष्कार गर्छौँ भन्यौँ,' जोशीले भने।खनालले आफ्नो पार्टी सहमति प्रयासमै लागिरहेको बताएका थिए। सहमति नजुट्दासम्म पार्टीको अडान कायमै रहने उनले बताए।श्रेष्ठले दलहरूले आफ्ना अडान नत्यागेसम्म सहमति नजुट्ने बताए। 'सबै दलले अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन भयो,' उनले भने।बैठकपछि कांग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरेले वाइसिएल अर्धसैन्य संरचना विघटन र कब्जा सम्पत्ति फिर्ता नगरेसम्म माओवादी नेतृत्वमा सरकार स्विकार्य नहुने दोहोर्‍याए।राष्ट्रिय जनशक्ति पार्टी सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले छैठौँ चरणमा जानुपरे संसद् बैठक बहिष्कार गर्ने जानकारी दिए।

No comments: