News

Aug 20, 2010

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र थप नयाँ ४ पदयात्रा मार्ग पहिचान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की/ पदयात्राका लागि आउने पर्यटक आकषिर्त गर्न अन्नपूर्ण संरक्षण क्षेत्रभित्र थप नयाँ ४ पदयात्रा मार्ग पहिचान गरिएको छ । निर्माणाधीन बेंसीसहर-चामे सडकका कारण अन्नपूर्ण पदयात्र मार्ग छोटिँदै गएपछि लमजुङ, कास्की र मनाङ जिल्लालाई जोडिने गरी नयाँ ४ पदमार्ग पहिचान गरिएको हो । पर्यटकीय नगरी पोखरालाई कास्की र लमजुङका गाउँसँग जोड्ने गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) ले नयाँ पदयात्रा मार्ग पहिचान गरेको एक्यापका प्रमुख लालप्रसाद गुरुङले जानकारी दिए । लमजुङ सदरमुकाम बेंसीसहर, घलेगाउँ, घनपोखरा, दुधपोखरी, मनाङको तिमाङ, चामे, लमजुङको भुजुङदेखि कास्कीको ताङतिङ हुँदै पोखरा र भुजुङदेखि दुधपोखरी पुगेर सिक्लेस हुँदै पोखरा पुग्ने नयाँ पर्यटकीय मार्ग पहिचान गरिएको एक्यापका सञ्चार अधिकृत देवेन्द्र थापाले बताए ।
त्यसैगरी लमजुङको बेंसीसहर, घलेगाउँ, पसगाउँ कास्कीको थम्सीकोट हुँदै पोखराको बेगनास तालसम्मको ग्रामीण पर्यटकीय पदमार्ग पनि सञ्चालनको तयारीमा रहेको छ । पहिचान भएका नयाँ पदयात्रा मार्गमा पथप्रदर्शक, सूचना पाटीलगायत राख्ने काम भइरहेको एक्यापले जनाएको छ ।
विश्वका १० उत्कृष्ट पदमार्गमध्ये अन्नपूर्ण पदमार्ग पछिल्लो समय संकटमा पर्दै गएको छ । अधिकांश भागमा सडक बनेको र आधाभन्दा बढीमा मोटर नै चल्न थालेपछि अन्नपूर्ण पदमार्ग संकटमा पर्न थालेको हो । नेपालको सबैभन्दा व्यस्त मानिने अन्नपूर्ण पदमार्गमा वर्षेनी हजारौँको संख्यामा विदेशी तथा स्वदेशी पर्यटक घुम्ने गर्छन् । पहिले २१ दिन लाग्ने चक्रीय अन्नपूर्ण पदयात्रा निर्माणाधीन बेंसीसहर-चामे ६५ किलोमिटरमा आधाभन्दा बढी भागमा मोटर चल्न थालेको र बेनी-मुक्तिनाथ झन्डै १ सय किलोमिटर हिउँदमा पूरै मोटर चल्न थालेकाले छोट्टिएर १ सातामा झरेको छ ।

No comments: