News

Aug 27, 2010

अनेरास्ववियुको केन्द्रीय कार्यालयमा रुवाबासी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० भदौ,अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बिहीबार साँझ रुवाबासी भएको छ । अध्यक्ष रामकुमारी झाँक्रीले झापड हानेको भन्दै केन्द्रीय सदस्य सन्तोषप्रकाश जोशी रोइरहेका थिए । आफ्नो कपाल लुछिएको भन्दै अध्यक्ष झाँक्री आक्रोशित भइरहेकी थिइन्, झडप रोक्न प्रहरी नै परिचालन गर्नुपरेको थियो ।
अखिल सिटिइभिटी कमिटीका कोषाध्यक्ष गोविन्द गिरीले नक्कली प्याड बनाएर आफूखुसी चन्दा उठाएको विषयमा विवाद सुरु भएको थियो । कोषाध्यक्ष गिरीले कमिटीका अध्यक्ष मदन खड्काको हस्ताक्षरसमेत चोरेर आर्थिक हिनामिना गरेको भन्दै सिटिइभिटी कमिटीले बुधबार कारबाही गरेको थियो । गिरीलाई स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गरिएकोमा विरोध जनाउन केन्द्रीय सदस्य जोशीको नेतृत्वमा ३० जनाजति विद्यार्थी बिहीबार अपराह्न केन्द्रीय कार्यालय पुगेका थिए ।
डेलिगेसनमा आएका विद्यार्थी एमाले वरिष्ठ नेता केपी ओली समर्थित अखिल महासचिव माधव ढुंगेल पक्षधर हुन् भने कारबाही गर्ने समूह एमालेको संस्थापन पक्ष समर्थित अध्यक्ष झाँक्री पक्षधर हुन् । अखिलको आगामी राष्ट्रिय सम्मेलनमा ओलीको तर्फबाट ढुंगेल अध्यक्षका प्रत्याशी छन् भने झाँक्रीको सहयोगमा वर्तमान उपाध्यक्ष सोभियत ढकाल उम्मेदवार बन्दै छन् । सिटिइभिटी कमिटीको विवादलाई दुवै पक्षले चुनावी रणनीतिको रूपमा उपयोग गर्न खोजेपछि बिहीबार झडप भएको हो । झडप शान्त पार्न प्रहरी नै केन्द्रीय कार्यालयमा आएका थिए ।

No comments: