News

Aug 26, 2010

राष्ट्रसंघमा नेपाललाई जिताउन प्रधानमन्त्रीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्र सङ्घीय महासभाको सन् २०११-१२ सभाध्यक्ष पदका लागि नेपाललाई समर्थन एवम् सहयोग गर्न नेपालस्थित दक्षिण एसियाका तीन देशका राजदूतसँग आग्रह गर्नुभएको छ ।प्रधानमन्त्रीका विशेष सल्लाहकार एवम् संयुक्त राष्ट्र सङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतमलाई आगामी महासभाका लागि नेपालले उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।सो पदका लागि समर्थन र सहयोग जनाउन आग्रह गर्दै नेपालले यसअघि दक्षिण एसियाका सबै राष्ट्र प्रमुख एवम् सरकार प्रमुखलाई औपचारिकरुपमा पत्राचार गरिसकेको छ ।प्रधानमन्त्री नेपालले आज बिहान श्रीलङ्काका राजदूत सुमित नाकान्डलालाई आफ्नै निवास बालुवाटारमा भेटेर नेपाललाई समर्थन गर्न आग्रह गर्नुभएको थियो भने नेपालस्थित पाकिस्तानका राजदूत सैयद अब्रार हुसैन र बङ्गलादेशका राजदूत डा नीमचन्द्र भूमिकलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाई सहयोग माग्नु भएको थियो ।प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भेटका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री नेपालले दक्षिण एसियाका तीन देशका राजदूतलाई भेटी आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रहसहित यस अघि पठाइएको पत्रका बारेमा राजदूतहरुसँग जिज्ञाशा राख्नु भएको जानकारी दिनुभयो ।प्रधानमन्त्री नेपालले आगामी सोमबार अरु एसियाली मुलुकका राजदूतहरुसँग भेटघाट गरी नेपाललाई सहयोग र समर्थन जनाउन आग्रहसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।दक्षिण एसियाली देशहरुबाट नेपाल बाहेक श्रीलङ्का, पाकिस्तान, भारत र बङ्गलादेशले सो पद सम्हालिसकेको सल्लाहकार भट्टराईले बताउनु भयो ।सो पदका लागि यस वर्ष नेपाल र कतारले उम्मेदवारी दिन लागेका छन् भने करिव २५ वर्षको अन्तरालमा दक्षिण एशियाले सो पदमा उम्मेदवारी दिन लागेको बताइन्छ ।प्रधानमन्त्री नेपालसितको भेटपछि नेपालस्थित पाकिस्तानका राजदूत हुसैनले सञ्चारकर्मीसँग भन्नुभयो- “प्रधानमन्त्री नेपालसंग राष्ट्र महासभाको सभाध्यक्ष पदमा नेपालको उम्मेदवारीका विषयमा छलफल भयो । ”हालै पाकिस्तानमा अविरल वर्षापछि आएको बाढीका कारण पुगेको जनधनका क्षतिप्रति प्रधानमन्त्री नेपालले नेपाल एवं आफ्नो व्यक्तिगत तर्फबाट दुःख प्रकट गर्नुभएको पनि उहाँले बताउनुभयो ।नेपालले पाकिस्तानका बाढी पीडितहरुका लागि एक करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

No comments: