News

Aug 17, 2010

प्रधानमन्त्रीका निम्ति एमालेलाई माओवादीले निसर्त सघाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका नेता देव गुरुङले प्रधानमन्त्रीमा कांग्रेसको उम्मेदवारी फिर्ता गराउन सके एमालेलाई विनासर्त सघाउने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गुरुङले कांग्रेसले फिर्ता लिए आफ्नो पार्टी पनि उम्मेदवारी झिक्न तयार रहेको दाबी गरे ।‘नयाँ प्रक्रियामा ठूलो दलको हिसाबले हाम्रो दाबी रहन्छ तर एमालेले सहमति जुटाउँछ भने विना सर्त सहयोग गर्न लचिलो छौं,’ उनले भने- तर, शान्ति सम्झौताभन्दा पछाडि र्फकन खोज्ने कांग्रेसको नेतृत्व हामी कुनै पनि हालतमा स्वीकार्दैनौं, ऊसँग थुप्रै वैचारिक र सैद्धान्तिक समस्या छन् ।एमालेसँग सरकार बनाउँदा दुई तिहाई पनि पुग्ने भएकाले माओवादीलाई कुनै समस्या नहुने उनको भनाइ थियो । उनले शान्ति र संविधानका निम्ति कांग्रेससँग सहकार्य भने गरिने बताए ।कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बहुमतीय सरकारका निम्ति दरखास्त हाल्ने नेताले राष्ट्रिय सहमतिको राग अलाप्नुको कुनै औचित्य नभएको बताए । ‘सहमतिको रटान जगै नहाली छानाको कल्पना गरे जस्तो हो,’ उनले भने- सरकारमा सँगै बसेर मात्र शान्ति र संविधान बन्दैन ।हतियार र लडाकुसँग सम्बन्ध विच्छेद नगरी माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने औंल्याउँदै सिटौलाले माओवादीले विगतका सहमति पालना नगरेका आरोप लगाए । ‘ती सहमति कुनै नेता विशेषका लागि होइन, जनताका लागि गरिएको हो,’ उनले भने । साथै उनले सहमतिको सरकारका लागि एक इन्च पनि आधार नबनेको दाबी गर्दै एमालेको लगातार तटस्थता मुलुकका निम्ति घातक बन्ने टिप्पणी गरे ।कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भोलिको प्रधानमन्त्री चुनाव पनि परिणामविहीन हुने ठोकुवा गरे । ‘सरकार बन्नुमात्र समस्याको समाधान होइन, अब शान्ति र संविधानका निम्ति साधक हुने सरकार चाहिन्छ,’ उनले भने- बहुमतीय सरकारले थप संकटमा लैजान्छ । एमाले कसैका पक्षमा भोट हालेर धु्रवीकरण बढाउँदैन ।उनले चार शक्तिमध्ये कोही बाहिर बस्दा त्यसको मूल्य मुलुकले चुकाउनुपर्ने खतरा रहेको औंल्याए । साथै उनले हतियार र लडाकु व्यवस्थापन नहुँदासम्म माओवादी नेतृत्वमा सरकार बन्नै नसक्ने बताए ।

No comments: