News

Aug 17, 2010

यौनकार्य गरिरहेको अवस्थामा सात जोडीलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, ३१ साउन,बुटवलका विभिन्न होटेलबाट यौनकार्य गरिरहेको अवस्थामा सात जोडीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले होटल सञ्चालक दुई जनालाई समेत पक्राउ गरेको छ । प्रहरीले आइतबार पाँच र सोमबार दुई यौनजोडीलाई पक्राउ गरेको हो । पक्राउ परेकामा यौनजोडीलाई प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका पुरुष १८ देखि ३५ वर्ष उमेर समूहका रहेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार, ती यौनजोडीमा नेपाली सेना र सशस्त्र प्रहरीसमेत रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीका अनुसार सोमबार दिउँसो बुटवलको चौराहस्थित सागर होटलबाट दुई यौनजोडी पक्राउ परेका हुन् । उनका अनुसार, आइतबार बुटवल नगरपालिका-८ नयाँ बसपार्कनजिकैको कालिका होटल एन्ड लजबाट तीन र इँटाभट्टीमा सञ्चालित नमुना होटल एन्ड लजबाट दुई यौनजोडीलाई पक्राउ गरेको थियो ।
होटलमा यौनधन्दा सञ्चालन गरेको र कम उमेरका युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा प्रहरीले कालिका होटलकी सञ्चालिका अर्घाखाँची भगवती गाविसकी ललिता पाण्डेलाई पक्राउ गरेको छ । नमुना होटल एन्ड लजका सञ्चालक दम्पती डोरनाथ र हिमला गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । डोरनाथले कामदारका रूपमा राखिएका किशोरीलाई जबर्जस्ती यौनधन्दामा लगाएको प्रहरीको दाबी छ । दुवै होटलका सञ्चालकले होटलमा यौनधन्दा सञ्चालन गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले केही दिनअघि बुटवलकै सांगि्रला होटलका सञ्चालक डिबी कार्कीलाई पनि पक्राउ गरेको छ । कार्कीले जबर्जस्ती यौनधन्दामा लगाएको उजुरी पीडित युवतीले दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका होटल सञ्चालकलाई मानव ओसार-पसार तथा बेचबिखनको अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

No comments: